Logo

प्रमुख समाचार

अबको बजेटबाट बृद्धभत्ता पाँच हजार पुर्‍याइन्छ : प्रचण्ड



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बजेटमा वृद्धभत्ता पाँच हजार पुर्‍याइने बताएका छन् ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले चाहेअनुसार काम नभएको अनुभूत गरेको समेत बताए । उनले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञान रहेकाे बताए।

’यो बीचमा केही राम्रा काम शुरु भएका छन। तर दुई तिहाईको सरकार भएका बेला नेपाली जुन गतीको साथ विकास होला निर्माण होला फटाफट काम होला भ्रष्टहरूमाथि कारबाही होला सुशासन होला लागेको थियो त्यो हुन सकेको छैन‘ प्रचण्डले भने, ‘वृद्धभत्ता पाँच हजार पुर्‍याउँछौ भनेका थियौ त्यो हुन सकेन। अब बन्ने बजेटमा त्यो पूरा गर्ने प्रधानमन्त्री र म बीच कुरा चलिराखेको छ।’

जनताको सरकारप्रतिको बुझाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भएको प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको समेत बताए । प्रचण्डले केही राम्रा काम भए पनि जनताले अनुभूत गर्नेगरी काम हुन नसकेको कुरा प्रधानमन्त्रीले पनि बुझेको बताए।

पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको प्रचण्डले बताए। प्रचण्डले अहिले दुवैजनाबीच नयाँ बजेटको बारेमा छलफल भइरहेको पनि जानकारी दिए।

उनले चुनावमा गरेका बाचा पूरा गर्ने हिसाबले नयाँ बजेटको तयारी भइरहेको बताए। ‘अब बनाउने बजेटमा हामीले यो पटक नसकेका कुरा जनताले देख्ने, बुझ्नेगरी व्यवस्था गर्ने छलफल भइरहेको छ’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा भत्ताको व्यवस्थाको प्रसंसा गरे । उनले भने, ‘अब हाम्रो सरकार आयो भनेर जनताले बुझ्ने गरी बजेट बनाउने तयारी भइरहेको छ।’

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  १२ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।