ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले ८४ हजार रुपैयाँमा झरेको हो।
एक साताअघि प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य अहिले चार हजार रुपैयाँले घटेको व्यवसायीले बताएका छन्। नयाँ उत्पादन बजारमा आउन थालेपछि मूल्यमा गिरावट आएको उनीहरूको भनाइ छ।
अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आउन थालेको छ। उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए।
‘ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो। त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ,’ बरालले भने।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती हुँदै आएको छ। जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने उतारचढावले किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।
उच्च क्षेत्रको अलैँची बजारमा आउन बाँकी रहेकाले आगामी दिनमा मूल्यमा थप उतारचढाव हुन सक्ने व्यवसायीको अनुमान छ।




















प्रतिक्रिया