Logo

प्रमुख समाचार

हेलिकोप्टर दुर्घटनाः मन्त्री अधिकारीसहित ७ जनाकै शव फेला



ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकै शव फेला परेको छ।

मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकोप्टर फुङ्लिङ नगरपालिका–१० फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भिरमा बुधबार दिउँसो दुर्घटना भएको र सबैको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता रामकृष्ण सुवेदीले एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाकै शव फेला परेको जानकारी दिए।

उनका अनुसार मन्त्री अधिकारीको शव चिनिने अवस्थामा रहेपनि अन्य ६ जनाको शव क्षतविक्षत अवस्थामा छ।  दुर्घटनामा मन्त्री अधिकारी, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी, पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्रीका अंग रक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ र प्राधिकरणकै ध्रुव भोचिभैयाको मृत्यु भएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए।

यसैबीच, दुर्घटनास्थलबाट शव काठमाडौं ल्याउनका लागि चार वटा हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाका दुई वटा,  सिम्रिक र डाइनेस्टी एयरको एक–एक वटा हेलिकोप्टर दुर्घटनास्थलतर्फ पठाइएको छ। तर, मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न नसकिएको बताइएको छ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ११ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।