Logo

Feature Story

पहाड र मधेशमा दशैँका फरक रीत, एउटै सांस्कृतिक भावना



काठमाडौं । दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । उनका अनुसार पहाडी क्षेत्रमा टीका, जमरा र देवीपूजाले विशेष महत्त्व पाउने गरेको छ भने तराई–मधेशमा दुर्गापूजा, सामूहिक मेला, भजन–कीर्तन र रामलीलाले दशैँको सांस्कृतिक स्वरूप निर्धारण गर्छन् ।

दशैँ नेपाली समाजको राष्ट्रिय पर्व हो । यसले परिवारका सदस्यबीचको सम्बन्ध बलियो बनाउनुका साथै समुदायका मानिसलाई सामूहिक रूपमा जोड्ने काम गर्छ । वर्षभरि एकआपसमा भएका मनमुटाव, इष्र्या र द्वेष बिर्सेर एकै ठाउँमा भेला हुने, पूजा गर्ने र खुसी साटासाट गर्ने अवसरका रूपमा पनि दशैँको महत्त्व रहेको उनले बताए ।

‘दशैँको भावना पहाड र तराई–मधेशमा एउटै हो, मनाउने तरिका र सांस्कृतिक विशेषता मात्रै फरक छन्,’ राकेशले भने । राकेशका अनुसार तराई–मधेशमा दशैँको सुरुआतसँगै घरघरमा वा दुर्गाको प्रतिमा स्थापना गरिएको स्थानमा जौंको जमरा उमार्ने चलन छ । कतिपय स्थानमा माटोको दुर्गा मूर्ति स्थापना गरेर सामूहिक रूपमा पूजा गरिन्छ । यस्ता स्थानमा मेला लाग्ने र स्थानीय बासिन्दा भेला भएर धार्मिक गतिविधिमा सहभागी हुने गर्छन् ।

पहाडी क्षेत्रमा जस्तै तराई–मधेशमा पनि देवीपूजा र खानपिन दशैँका प्रमुख पक्ष हुन् । तर त्यहाँ दुर्गाको मूर्ति स्थापना गरी सामूहिक पूजा गर्ने परम्पराले विशेष स्थान पाएको उनले बताए । दुर्गाको प्रतिमा स्थापना गरिएका स्थानमा दिनभरि मेला लाग्ने तथा राति भजन–कीर्तन र धार्मिक कार्यक्रम आयोजना गर्ने चलन रहेको उनको भनाइ छ ।

पहाडी क्षेत्रमा फूलपाती भित्र्याउने परम्पराले विशेष महत्त्व पाए पनि तराई–मधेशमा त्यसको स्वरूप फरक रहेको राकेशले बताए । त्यहाँ घटस्थापनादेखि नै घर वा देवीको स्थानमा जमरा उमार्ने चलन छ ।

टीका र आशीर्वाद दिने चलनमा भिन्नता

पहाड र तराई–मधेशको दशैँमा देखिने अर्को भिन्नता विजयादशमीको टीका र जमरा लगाउने परम्परा हो । पहाडी क्षेत्रमा रातो टीका, जमरा र आशीर्वादलाई दशैँको प्रमुख पहिचानका रूपमा लिइन्छ । तराई–मधेशमा पनि ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिने चलन रहे पनि पहाडी क्षेत्रमा जस्तो व्यापक रूपमा टीका लगाउने प्रचलन नरहेको राकेशले बताए ।

उनका अनुसार पहिले तराई–मधेशका कतिपय स्थानमा ब्राह्मणहरू घरघरमा गएर जमरा लगाइदिने र दक्षिणा लिने चलन थियो । अहिले भने परिवारका ज्येष्ठ सदस्यले नै सानालाई आशीर्वाद दिने प्रचलन बढेको छ ।

राकेशले टीकालाई विजय र आशीर्वादको प्रतीकका रूपमा व्याख्या गरे । विजयादशमीले असत्यमाथि सत्य र पराजयमाथि विजयको सन्देश दिने धार्मिक मान्यता रहेको उनले बताए ।

रामलीला र कुस्तीको आकर्षण घट्दै

तराई–मधेशमा दशैँका बेला आयोजना हुने रामलीला, कुस्ती प्रतियोगिता, मेला र पिङजस्ता गतिविधि परम्परागत मनोरञ्जनका महत्त्वपूर्ण माध्यम रहेको राकेशले बताए । उनका अनुसार रामलीलामार्फत रामायणका पात्र, उनीहरूको चरित्र र धार्मिक शिक्षाबारे समुदायलाई जानकारी दिने गरिन्थ्यो ।

त्यस्तै, गाउँगाउँमा आयोजना हुने कुस्ती प्रतियोगिता हेर्न मानिसहरू भेला हुने गर्थे । प्रसिद्ध पहलवान बोलाएर प्रतियोगिता आयोजना गर्ने चलनसमेत रहेको उनले बताए । तर अहिले रामलीला र कुस्तीका कार्यक्रम घट्दै गएका छन् । पिङ खेल्ने परम्परा पनि क्रमशः कमजोर हुँदै गएको उनको भनाइ छ ।

पहिले गाउँघरमा मनोरञ्जनका साधन सीमित हुँदा मेला, भजन–कीर्तन, रामलीला र कुस्तीले समुदायलाई एकै ठाउँमा भेला गराउने गर्थे। आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीसँगै त्यस्ता परम्परागत गतिविधिको आकर्षण घट्दै गएको उनले बताए ।

बलिप्रथामा आस्था र विरोध दुवै

तराई–मधेशमा दशैँका बेला पशुबलि दिने परम्परा पनि प्रचलित रहेको राकेशले बताए । अष्टमी र नवमीमा खसी, बोका, हाँस तथा परेवाको बलि दिने र त्यसको मासु प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको उनको भनाइ छ ।

उनका अनुसार कतिपय समुदायले मनोकामना पूरा भएपछि देवीलाई बलि चढाउने धार्मिक विश्वास राख्छन् । बलिप्रथाको विरोध हुँदै आएपनि धार्मिक आस्था र परम्परासँग जोडिएकाले यो चलन पूर्ण रूपमा हट्न नसकेको उनले बताए ।

यद्यपि, पशुबलिलाई धार्मिक आस्थाका रूपमा मात्रै नभई जीवहत्याको पक्षबाट पनि हेर्नुपर्ने राकेशको भनाइ छ । बलिप्रथाको विरोध गर्ने र समर्थन गर्ने दुवै पक्ष रहेकाले यस विषयमा सामाजिक तथा सांस्कृतिक संवेदनशीलता जोडिएको उनले बताए ।

दशैँले बजार र स्थानीय व्यापारलाई पनि चलायमान बनाउँछ

दशैँको धार्मिक र सामाजिक महत्त्वसँगै आर्थिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण रहेको राकेशले बताए । पर्वका लागि आवश्यक खाद्यान्न, मसला, पूजासामग्री, लत्ताकपडा र अन्य वस्तु खरिद गर्न मानिसहरू बजार जाने भएकाले दशैँमा स्थानीय हाटबजार र व्यापार चलायमान हुने उनको भनाइ छ ।

विशेषगरी तराई–मधेशका गाउँमा लाग्ने साप्ताहिक हाटबजारले स्थानीय उत्पादनको बिक्री र उपभोगलाई जोड्ने काम गर्छन् । किसान तथा व्यापारीले उत्पादन बिक्री गर्ने र उपभोक्ताले पर्वका लागि आवश्यक सामग्री खरिद गर्ने भएकाले दशैँले स्थानीय आर्थिक गतिविधिमा योगदान पु¥याउने उनले बताए ।

राकेशका अनुसार दशैँ केवल धार्मिक अनुष्ठान वा खानपिनमा सीमित पर्व होइन। यसले पारिवारिक सम्बन्ध, सामुदायिक सहकार्य, सांस्कृतिक पहिचान र स्थानीय व्यापारलाई समेत जोड्छ । समयसँगै पर्व मनाउने शैली परिवर्तन भए पनि सामाजिक एकता र आपसी सद्भावको यसको मूल भावना कायम रहनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार ११:०२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।