Logo

विविध

सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो



धनगढी ।  दसैं मनाउन सुदूरपश्चिमका पहाडी जिल्ला जाने यात्रुको संख्या यस वर्ष घटेको छ। कैलाली र कञ्चनपुरबाट दसैं–तिहार मनाउन पहाड जाने यात्रुको संख्या हालसम्म एक लाखसमेत नपुगेको प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

गत वर्ष दसैंका बेला तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख ५० हजारभन्दा बढी थियो। तर, यस वर्ष दसैं सुरु भएसँगै दुई–तीन दिन मात्रै यात्रुको चाप बढेको र त्यसपछि क्रमशः घट्दै गएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टले बताए।

‘आजसम्म तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन,’ भट्टले भने, ‘विगतको तुलनामा यस पटक दसैं मनाउन पहाड जाने यात्रुको संख्या निकै घटेको छ। दसैंसम्म पनि एक लाख पुग्ने सम्भावना कम देखिन्छ।’

सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने प्रमुख मार्ग अत्तरियाबाट भएर जानुपर्छ। भारतलगायत देश–विदेशबाट दसैं मनाउन घर फर्किनेहरूले समेत यही मार्ग प्रयोग गर्दै आएका छन्। तर, यस वर्ष विगतका दसैंमा जस्तो यात्रुको अत्यधिक चाप नदेखिएको प्रहरीले जनाएको छ।

सामान्य अवस्थामा अत्तरिया हुँदै पहाडतर्फ जाने सार्वजनिक सवारीसाधनको संख्या दैनिक ३० देखि ४० सम्म हुने गरेको छ। दसैं सुरु भएपछि यो संख्या बढेर दैनिक ५० देखि ६० सम्म पुगेको भट्टले बताए। तर, पछिल्ला एक–दुई दिनयता पहाड जाने सार्वजनिक सवारीसाधनको संख्या पनि घटेको उनको भनाइ छ।

‘विगतमा जस्तो सार्वजनिक यातायातमा यात्रुको अत्यधिक चाप देखिएको छैन। यात्रु ठगिएको गुनासो पनि आएको छैन,’ भट्टले भने, ‘अहिले अवस्था सामान्य छ।’

दसैं–तिहारका बेला यात्रुको सुरक्षासँगै यातायात व्यवस्थापनलाई सहज बनाउन सुदूरपश्चिम प्रदेशका विभिन्न ३९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ती कक्षमार्फत यात्रुका गुनासा सुन्ने तथा यातायातसम्बन्धी जनचेतना फैलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै चालकको अवस्था जाँच गर्ने र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले जनपद प्रहरी तथा ट्राफिक प्रहरीले संयुक्त रूपमा अनुगमनसमेत गर्दै आएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १८:२९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।