Logo

खेलकुद

टि-२० सिरिजमा अस्ट्रेलियाको कब्जा, तोडियो कोहलीको कीर्तिमान



अस्ट्रेलिया र न्यूजल्यान्ड भ्रमणमा गतिलो प्रदर्शन गरेको भारतले घरमा भने हारको सामना गरेको छ। बुधबार घरेलु मैदानमा भारत पाहुना टोली अस्ट्रेलियासँग सात विकेटले पराजित भयो। हारसँगै दुई म्याचको सिरिज भारतले गुमाएको छ। भारतमा अस्ट्रेलियाले टि-२० सिरिज जितेको पहिलो पटक हो।योसँगै विराट कोहलीले आफ्नो कप्तनीमा घरमा पहिलो हार बेहोरेका छन्।

बेङ्लुरूमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले आफ्ना कप्तान विराटको ७२ रन को सहयोगमा चार विकेटको क्षतिमा १९० रन जोडेको थियो। उसको यो बलियो चुनौतीलाई अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको ११३ रनको पारीले ध्वस्त पारिदियो। अस्ट्रेलियाले १९१ रनको लक्ष्यलाई तीन विकेट गुमाउँदै २ बल बाँकी छँदै पूरा गरेको थियो।

हारसँगै घरेलु मैदानमा आफ्नो कप्तानीमा कुनै पनि सिरिज नहारेको कोहलीको कीर्तिमानमा विराम लागेको छ। कोहलीको कप्तानीमा भारतले घरेलु मैदानमा १५ सिरिज खेलकोमा १४ सिरिजमा जित दर्ता गरेको थियो। एक सिरिज ड्रमा टुङ्गिएको थियो।

यस म्याचमा भारत तीन परिवर्तनका साथ मैदानमा उत्रेको थियो। रोहित शर्मालाई आराम दिएको भारतले उमेश यादव र मयंक मार्कडेयलाई ११ सदस्यिय टोलीमा राखेको थिएन। उनीहरूको सट्टामा क्रमश: शिखर धवन, सिद्धार्थ कौल र विजय शंकरलाई मौका दिएको थियो।

टस हारेर ब्याटिङमा उत्रेको भारतका लागि विराटका अलावा केएल राहुलले २६ बलमा ४७ रनको योगदान दिएका थिए भने महेन्द्र सिंह धोनीले २३ बल खेल्दै ४० रनको योगदान दिएका थिए।

त्यस्तै कोहलीले ३८ बल खेल्दै दुई चौका र ६ छक्का लगाउँदै नटआउट ७२ रन जोडे। यो उनको २० औं अर्धशतक हो।

जवाफी व्याटिङमा उत्रेको अस्ट्रेलियाका लागि ५५ बल खेल्दै म्याक्सवेलले नटआउट ११३ रन बनाए। भारतिय बलरले उनलाई गलाउन सकेनन्। सो पारीमा म्याक्सवेलले ७ चौका र ९ छक्का प्रहार गरे। यसैगरी डिआर्सी शर्टले २८ बलमा ४० रन बनाए। सो म्याचमा मार्कस स्टोइनिस ७ र एरोन फिन्च ८ रन बनाएर आउट भए।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ३ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।