सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि विवादले उग्ररुप लिँदै गएको छ । नेता माधवकुमार नेपाल र झलनाथ खनालले सार्वजनिक रुपमा सरकारको विरोध गरिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले काम गर्न नसकेको भनेर नेताहरूले आलोचना गर्दै आएका छन् ।
आफ्नै काम अलोप्रिय बन्दै गएपछि पार्टीभित्र ओली अल्पमतमा परेका छन् ।केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय कार्यसमितिमा ओली अल्पमतमा परेपछि उनी पार्टीको कुनै पनि बैठक बोलाउने पक्षमा छैनन् । बैठक बोलाउन ओलीलाई दबाब परिरहेको छ ।
ओलीमाथि बहुमतको निर्णयबाट डराएर बैठक नबोलाएको आरोप लाग्दै आएको छ । ओलीलाई अहिले साथ दिनेमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै छन् । ओलीले एकलौटी रुपमा जर्बजस्ती निर्णय गर्ने गरेपछि दोस्रो तहका अध्यक्ष दाहाल रिसाएका छन् ।
दाहालभन्दा पनि नेपाल–खनाल समूह रिसाएका छन् । पार्टीभित्रको आक्रोश र आलोचनालाई मत्थर बनाउन ओली केही मन्त्रीहरूलाई हटाई नयाँलाई अवसर दिने पक्षमा देखिएका थिए । तर, त्यो प्रयास पनि ओलीका लागि सजिलो बाटो भएन । ओलीको हरेक प्रयासमा अहिले बामदेव गौतम पर्खाल बनेर आउने गरेका छन् ।
गौतमले ओलीसँग बदला लिन थालेका छन् । ओलीको कार्यशैलीबाट रिसाएका नेताहरूले दाहाललाई साथ दिन थालेका छन् । एमाले पृष्ठभूमि भएका अधिकांश नेताहरूले ओलीको साथ छाडेर दाहालको पछाडि कुद्न थालेका छन् ।ओलीसँग भेट्न असजिलो छ । विष्णु रिमालसहितका सल्लाहाकारहरूले भेट्न दिँदैनन् ।
ओलीलाई भेट्न नपाएपछि नेताहरू सिधै खुमलटार पुगेर दाहाललाई भेट्ने गरेका छन् ।ओलीका कमीकमजोरीहरूलाई दाहालले आफ्नो शक्ति र उर्जाका रुपमा प्रयोग गर्दै आएको स्रोतले जनाएको छ । नेपाली कांग्रेसले ओलीका क्रियाकलापमाथि नै आफूलाई केन्द्रित बनाएपछि दाहाल झन् खुसी छन् ।
दाहालले ओलीले आफूलाई सरकार र पार्टी दुबै नदिने पक्षमा रहेको बुझेका छन् । ओली पावरमा रहँदासम्म दाहाल शून्यमा रहेर काम गर्नुपर्ने हुन्छ । यो कुरा दाहाललाई मन परेको छैन । त्यही भएर दाहालले ओलीका विरुद्ध फेरि अभिव्यक्ति दिन थालेको टिप्पणी भइरहेको छ ।
एमाले र माओवादी केन्द्रका नेताहरू र संगठनलाई समायोजन गर्न बनाइएको कार्यदल भङ्ग गरिएपछि नेकपाभित्र झन् विवाद बढेको हो । कार्यदल भङ्ग गर्नेमा ओली नै अगाडि छन् । ओलीको यो कार्यको योगेश भट्टराईले विरोध गरेका छन् ।
योगेशले पनि ओलीलाई साथ नदिने प्रष्ट संकेत गरिसकेका छन् । योगेशले पछिल्लो दिनहरूमा दाहाललाई खुलेरै साथ दिएको चर्चा छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत ओलीलाई सहयोग हुने गरेर कुनै पनि काम गर्न सकेका छैनन् । यस्तो अवस्थामा ओली झन् तनावमा परेको चर्चा हुन थालेको छ ।
प्रतिक्रिया