Logo

Sports

एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको उल्लेख गर्दै उनले भने, ‘खेल प्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठुलो आशा जगाएको छ । यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु ।’

प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटका साथै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा रहेको बताए ।

साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीहरूलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना समेत दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार ०८:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।