सांसद विजय सुब्बा पनि बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै एउटै हेलिकप्टरमा जाने तय भएको थियो । सुब्बा जाने तयारीमा नै थिए । उनी मन्त्री अधिकारीको फोन मात्र कुरिरहेका थिए ।मन्त्री अधिकारीले तेह्रथुमको चुहान डाँडामा प्रस्तावित विमानस्थलको अवलोकनका लागि सँगै जान फोन गर्ने बताएका थिए ।
तर, जब बिहान राज्य व्यवस्था समितिको बैठकका समयमा मन्त्री चढेको हेलिकोप्टर दुर्घटना भएको खबर सुनेपछि मात्र उनले थाहा पाए-सिट नपुगेका कारण उनलाई जाने निम्ता नआएको रहेछ । मन्त्री अधिकारी गइसकेका रहेछन् ।
फोन कुरिरहेका सांसद सुब्बालाई एकाएक गृह सचिव प्रेमकुमार राईले अप्रत्यासित यस्तो खबर सुनाएका थिए । सांसद सुब्बा भन्छन्, ‘हेलिकप्टर बेपत्ता भएको खबर थाहा पाउँदा छाँगाबाट खसेझै भएँ ।’ उनी थप्छन्, ‘मेरो त होस हवास नै उड्यो । अझै पनि डर लागिरहेको छ । संयोगले बाँचे ।’
‘सिट भएको भए म पनि जान्थेँ । मेरो अवस्था पनि त्यस्तै हुन्थ्यो होला,’ दुखद् घटनालाई सम्झिँदै उनले भने, ‘यो सम्झँदा त एकदमै डर लाग्दो रहेछ ।’ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका सातै जनाको शव घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरबाट लिफ्ट गरी शव विमानस्थलमा ल्याइएको हो। बुधबार साँझ चार जनाको शव ल्याइएको थियो।
मौसम खराब भएपछि राति तीन शवलाई घटनास्थलमै राखिएको थियो। नेपाल प्रहरीका डिएसपीसहित टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले बाक्लो हिमपातबीच रातभर शव कुरेका थिए।
तीन वटा शवलाई बिहान लिफ्ट गरेर सुकेटार ल्याइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। ‘अहिले एकदमै धेरै कुहिरो लागेकाले भिजिबिलिटी जिरो छ, मौसम खुल्नासाथ काठमाडौं पठाउँछौं,’ प्रजिअ भण्डारीले सेतोपाटीसँग भने।
बुधबार दिउँसो पाथीभरा मन्दिरबाट फर्कने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो।
अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ ।कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिएका हुन् ।
मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् । स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।
अध्यक्ष देखि पर्यटन मन्त्रीसम्म रबिन्द्र अधिकारी
पर्यटनमन्त्री रविन्द्र अधिकारीको असामयिक निधन भएको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको ईकाई सभापतिदेखि पर्यटन मन्त्रीसम्म बनेका मन्त्री अधिकारी एक प्रतिवद्ध विकासप्रेमी युवा नेता थिए ।
रविन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाऊँकै विद्यालयबाट पूरा गरेका थिए ।
सानैदेखि राजनीतिक गतिविधिमा रुची राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरुमा संलग्न भए । अधिकारी २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुँदै २०५६ सालमा अनेरास्वबियुको केन्द्रीय अध्यक्ष बनेका थिए ।
ब्यबस्थापनमा स्नातकोत्तर गरेका अधिकारी पञ्चायतकाल तथा २०४६ को आन्दोलनमा गरी ६ महीना जेल र हिरासतमा परेका थिए । वि.स.२०४९ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु अध्यक्ष बनेका थिए ।
वि.स. २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कांस्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा उनले खेलेको भूमिका प्रशंसनीय मानिन्छ । अधिकारी २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।संसदमा लगातार तेश्रो पटक निर्वाचित अधिकारी पछिल्लो समय पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएका थिए ।
प्रतिक्रिया