Logo

प्रमुख समाचार

नेकपाका २ अध्यक्ष आफ्नै पारमा, सिंहदरबारमा दुई समानान्तर कार्यालय संचालन



तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको नौ महिना बित्न लागेको छ । पार्टी एकीकरण भएको लामो समय हुँदा समेत दुबै पार्टीले आ–आफ्ना पुराना कार्यालय र संगठनहरूलाई यथावत राखेका छन् ।

एमाले र माओवादी केन्द्रका कार्यालयहरू अहिले पनि सक्रिय छन् । सिंहदरबारस्थित माओवादी केन्द्र र एमालेको संसदीय दलका कार्यालयहरू अस्तित्वमा छन् । एमाले पृष्ठभूमि भएका सांसदहरू आफ्नै संसदीय दलको कार्यालयमा बस्छन् । माओवादी केन्द्रका सांसदहरू आफ्नै कार्यालयमा भेटिन्छन् ।

पार्टी एकताको नौ महिनासम्म पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटै संसदीय दलको कार्यालय बन्न सकेको छैन ।सिंहदरबारमा पूर्वएमाले र पूर्वमाओवादी समूहले बेग्लाबेग्लै संसदीय दलको कार्यालयबाट काम गर्दै आएका छन् ।

पूर्वमाओवादी समूह हाल प्रयोग गरिरहेको कार्यकक्ष सार्न अनिच्छुक देखिएको छ । उनीहरूले साँघुरो र बैठक बस्ने हलसमेत नभएको कारण देखाउँदै नयाँ कार्यकक्षमा जान आनाकानी गरेका छन् ।

राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराई तथा प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका लागि छुट्टाछुट्टै कार्यकक्ष तयार भइरहे पनि नयाँ कार्यालयमा सर्न उनीहरूले अनिच्छा देखाएका छन् ।

गुरुङ र शर्माले संघीय संसद्को भवन नम्बर २ को तेस्रो तलाको साबिककै कार्यकक्ष प्रयोग गरिरहेका छन् ।पूर्वमाओवादी समूहका धेरैजसो सांसद साबिककै कार्यालयमा बस्न रुचाउँछन् । प्रतिनिधिसभामा ५३ र राष्ट्रिय सभामा १२ सहित सो समूहका ६५ सांसद छन् ।

प्रधानमन्त्रीसमेत रहेका दलका नेता केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीले साबिक एमाले कार्यालयमा रहेको पुरानै कार्यकक्ष प्रयोग गर्दै आएका छन् ।प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रिय सभामा २७ सहित साबिक एमालेका १ सय ४८ सांसद छन् । उनीहरू पनि धेरैजसो साबिककै कार्यालयमा बढी देखिन्छन् ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  २ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।