काठमाडौं । कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै पूर्वतयारी र प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरेको हो।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित भारी वर्षाका कारण बाढीपहिरो र डुबानलगायतका विपद् निम्तिन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक तयारी अघि बढाउन एकाइले निर्देशन दिएको छ।
एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपत्कालीन सम्पर्क व्यक्ति तोक्न र उनको सम्पर्क विवरण एकाइलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न भनिएको छ। सम्बन्धित हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (इएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।
त्यसैगरी, स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ। विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्सको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्नुपर्ने परिपत्रमा उल्लेख छ।
एकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत अनिवार्य पठाउन पनि प्रदेशका केन्द्रहरूलाई आग्रह गरेको छ। सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न निर्देशन दिइएको छ।




















प्रतिक्रिया