Logo

सशस्त्र प्रहरी–एसएसबी द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु



काठमाडौं । नेपाल र भारतका सीमा सुरक्षा निकायबीच सीमा व्यवस्थापन तथा सुरक्षा सहकार्यका विषयमा छलफल गर्न १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ गतेसम्म चल्नेछ।

बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् भने नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल सहभागी छन्।

सीमा अपराध नियन्त्रण र दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

बैठकमा सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, मानव तस्करी, लागूऔषध ओसारपसार तथा अवैध हातहतियार नियन्त्रणका लागि भएका प्रयासको समीक्षा गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, दशगजामा भएको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणबारे पनि छलफल हुनेछ। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने र दुवै देशका सुरक्षा निकायबीच सहकार्य विस्तार गर्ने विषय पनि बैठकको कार्यसूचीमा छन्।

नेपाल–भारत खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमन नियन्त्रण तथा सीमा व्यवस्थापनलाई प्रभावकारी र आधुनिक बनाउन प्रविधिको प्रयोगबारे समेत छलफल हुने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधि सहभागी छन्। भारतीय पक्षबाट गृह तथा विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र एसएसबीका उच्च अधिकारी सहभागी भएका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।