हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरका बासिन्दासरह आधारभूत सेवासुविधा पाउनुपर्ने बताएका छन् । शिक्षा, स्वास्थ्य र यातायातजस्ता सेवा सहरमा केन्द्रित हुँदा ग्रामीण क्षेत्रका नागरिकले असमानता भोग्नुपरेको उनको भनाइ छ ।
अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै साम्पाङले राज्यबाट उपलब्ध हुने सेवासुविधा सबै क्षेत्रमा समान रूपमा पुर्याउनुपर्ने बताए । आवश्यक सेवा र सुविधा उपलब्ध गराउन सके नागरिक जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले उल्लेख गरे ।
‘राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरणका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सुविधा सहर केन्द्रित छन्,’ उनले भने, ‘यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको संख्या घट्दै गएको छ ।’
साम्पाङले नदी तर्न तुइनको सहारा लिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण गर्ने विषयसँग जोडिएको बताइएको छ ।
खडीखेतमा स्थानीय बासिन्दा जोखिम मोलेर तुइनबाट नदी वारपार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साम्पाङले पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।
उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको छ । अब पुल निर्माण कहिले सुरु हुन्छ र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यताबाट कहिले मुक्ति पाउँछन् भन्ने विषय चासोको केन्द्रमा छ ।
दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल र आधारभूत सेवासुविधाको अभावका कारण स्थानीय बासिन्दाले वर्षौंदेखि कठिनाइ भोग्दै आएका छन् । समान सेवासुविधा पुर्याउने प्रतिबद्धतासँगै खडीखेतको पुल निर्माणले मूर्तरूप लिने समयबारे पनि स्थानीयको चासो बढेको छ ।




















प्रतिक्रिया