Logo

खेलकुद

सुदूरपश्चिमको पहिलो जित, पोखरा पराजित, भोली कुन कुन टोली खेल्दैछन् ?



काठमाडौंं।  कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतक बनाएसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपीएल ३ मा विजयी शुरुवात गरेको छ ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।

१४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३६ बलमा ४ चौका र दुई छक्काको सहयोगमा अविजित ५१ रन बनाए ।

ओपनर विनोद भण्डारी ४ रनमा आउट भएसँगै शुरुवाती झट्का ब्यहोरेको सुदूरपश्चिमका लागि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । भने कप्तान दीपेन्द्र र इशान पाण्डेले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । पाण्डेले ३१ बलमा ३७ रन बनाए ।

पोखराका लागि धनञ्जय लक्षणा, महेदी हसन र शाकिब अल हसनले एकएक विकेट लिए पनि सुदूरपश्चिमलाई जितबाट रोक्न सकेनन् ।

त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

पोखराका अर्जुन घर्तिमगरले अविजित ४० रन, महेदी हसनले ३२ र कप्तान कुशल भुर्तेलले २१ रन बनाए । बंगलादेशका भेट्रान अलरान्डर शाकिब अल हसनले १४ रन मात्र बनाउन सके ।

सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ तथा हेमन्त धामी, स्कट कुइगेइन र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज खेल्ने छन् भने साँझ ५ बजे शुरु हुने भोलीको दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाण्डु गोर्खाजले पहिलो खेल खेल्न लागेको हो । काठमाडौँले अस्ट्रेलियाका विश्वप्रसिद्ध ब्याटर डेभिड वार्नरलाई ल्याएको छ ।

यस्तै विराटनगर पहिलो खेलमा पराजित भएको थियो भने कर्णालीले पहिलो खेल जित्दै विजयी शुरुवात गरेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार २१:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।