झापा । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको झापाको अर्जुनधारास्थित जलेश्वर धामको पवित्र जल नजिकैको कैलाशघाटमा पुर्याइने भएको छ ।
शवदाहपछि चिता पखाल्न तथा घाटमा गरिने धार्मिक कार्यका लागि धामको जल उपयोग गर्ने उद्देश्यले करिब दुई हजार पाँच सय मिटर पाइपलाइन विस्तार गरी पानी पु¥याउने तयारी गरिएको हो ।
श्रम संस्कृति पार्टीको अग्रसरतामा करिब रु १६ लाखको लागतमा सञ्चालन गर्न लागिएको यस योजनाअन्तर्गत ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिनेछ ।
योजनाको अधिकांश काम श्रमदानबाट सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसबाट कैलाशघाटमा अन्त्येष्टि संस्कारका लागि आउने सर्वसाधारणलाई पानीको सहज उपलब्धता हुने अपेक्षा गरिएको छ ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हिमालय कन्दङ्वाले धामको पवित्र जल घाटसम्म पु¥याउने अभियानले धार्मिक आस्था र सामाजिक सेवाको भावनालाई जोड्ने बताए ।
आगामी कात्तिक १७ गते श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक समारोहबीच योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको कैलाशघाट व्यवस्थापन समितिका संयोजक शम्भु भण्डारीले जानकारी दिए । शिलान्यासपछि निर्माण कार्य सुरु गरी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
पौराणिक कथासँग जोडिएको धामको जल
पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वर धाम धार्मिक आस्था, पौराणिक विश्वास र ऐतिहासिक किंवदन्तीसँग जोडिएको तीर्थस्थल हो ।
धामको उत्पत्तिसम्बन्धी प्रचलित कथाअनुसार महाभारतकालमा विराट राज्यका राजाका हजारौँ गाई कौरव पक्षले लुकाएर लगेपछि अर्जुनले युद्ध गरेर गाई फिर्ता ल्याएका थिए । त्यस क्रममा गाईलाई पानी खुवाउन अर्जुनले बाण प्रहार गरी जलकुण्ड निर्माण गरेको जनविश्वास छ ।
धामका मूल पुजारी पण्डित अग्नि सिग्देलका अनुसार यही पौराणिक विश्वाससँग जोडिएको धामको जललाई नजिकैको मोक्षघाटसम्म पु¥याउने तयारी गरिएको हो । धामको धार्मिक महत्त्वलाई घाटमा हुने अन्त्येष्टि संस्कारसँग जोड्दै पवित्र जलको उपयोग गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनले बताए ।
धाम परिसरमा रहेका पाँच जलधारामध्ये एउटा धाराको पानी करिब तीन किलोमिटर दक्षिण–पश्चिममा रहेको नदी किनारको कैलाशघाटसम्म पु¥याउने योजना रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।
उनका अनुसार धामको जललाई मोक्षघाटसम्म पु¥याउने विषय लामो समयदेखि चर्चामा रहे पनि पछिल्लो समय स्थानीय अगुवा तथा युवा उद्यमीसमेत रहनुभएका व्यवस्थापन समितिका सहसंयोजक सुजन राज शिवाकोटीको पहलमा योजनाले मूर्तरूप लिन थालेको हो ।
करिब रु १६ लाख लागत अनुमान गरिएको योजनामा दुई हजार ७ सय मिटर पाइपलाइन विस्तार, पानी सङ्कलनका लागि ट्याङ्की निर्माण र घाटसम्म पानी वितरण गर्ने संरचना तयार गरिनेछ ।
व्यवस्थापन समितिका सहसंयोजक शिवाकोटीका अनुसार स्थानीयवासी, युवा तथा श्रम संस्कृति पार्टीका सदस्यको सहभागितामा श्रमदानमार्फत निर्माण कार्य अघि बढाइनेछ ।
पचास हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएपछि घाटमा आवश्यकताअनुसार पानी सङ्कलन र वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ । योजनाको प्रभावकारी सञ्चालनका लागि पानीको स्रोतको संरक्षण, नियमित आपूर्ति र संरचनाको दीर्घकालीन व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।
धार्मिक आस्था र सामाजिक आवश्यकतालाई जोडेर अघि बढाइएको यस योजनाले कैलाशघाटमा अन्त्येष्टि संस्कारका लागि आउने नागरिकलाई सुविधा पु¥याउनुका साथै जलेश्वर धामको धार्मिक महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।
धामको पवित्र जललाई घाटसम्म पु¥याउने अभियान सफल भएमा स्थानीयस्तरमा श्रमदानबाट धार्मिक तथा सामाजिक पूर्वाधार निर्माणको उदाहरणसमेत स्थापित हुने विश्वास गरिएको छ ।



















प्रतिक्रिया