Logo

राजनीति

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र : मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल



सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन् ।

प्रतियोगिताको आयोजक प्रदेशसमेत रहेको कर्णालीमा खेल पूर्वाधार निर्माण, व्यवस्थापन तथा आवश्यक तयारीका विषयमा केन्द्रित रहेर मन्त्री पोखरेलले मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग छलफल गरेका हुन् ।

सुर्खेतमा भएको भेटमा प्रतियोगितालाई भव्य र ऐतिहासिक रूपमा सफल बनाउन संघीय र प्रदेश सरकारबीच आवश्यक समन्वय, खेल पूर्वाधारको अवस्था तथा प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीबारे छलफल भएको थियो ।

छलफलका क्रममा मन्त्री पोखरेलले निर्धारित समयमै प्रतियोगिता सम्पन्न गर्न मन्त्रालयले सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गरिरहेको बताए ।

उनले कर्णाली प्रदेशमा खेल पूर्वाधारको विकास र व्यवस्थापनका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री मल्लले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनीहरूले प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै संघीय सरकारसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताए ।

मन्त्री पोखरेल प्रतियोगिताको तयारीको अवस्था बुझ्न, खेल पूर्वाधारको निरीक्षण गर्न र सरोकारवाला निकायसँग समन्वय गर्न हाल सुर्खेत भ्रमणमा छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार २०:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।