काठमाडौं । पछिल्लो केही दिन यता देशका विभिन्न स्थानमा भएका ४३ वटा विपद्का घटनामा परी १३ जना घाइते भएका छन्। ती घटनामा तीनवटा चौपायामा क्षति पुगेको छ भने करिब ९ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा, हिमपात तथा जनावरको आक्रमणका घटना भएका छन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार पछिल्लो अवधिमा सबैभन्दा बढी पहिरोका १७ घटना भएका छन्। यसैगरी अविरल वर्षाका सात, आगलागी र बाढीका पाँच–पाँच, सर्पदंश र जनावरको आक्रमणका चार–चार तथा हिमपातको एउटा घटना अभिलेख गरिएको छ।
विपद्मा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। साथै, विपद्का घटनाबाट भएको जनधनको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि जारी रहेको छ।
यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र आवश्यक पूर्वतयारी अवस्थामा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।




















प्रतिक्रिया