Logo

प्रमुख समाचार

आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड



नेपाल युवा उद्यमी मञ्चले आज आयोजना गरेको युवा महिला उद्यमीसम्बन्धी छलफल कार्यक्रमका वक्ताले नेपालको आर्थिक विकासमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

कृषि, उत्पादनका क्षेत्र, ऊर्जाजस्ता विभिन्न क्षेत्रमा क्रियाशील महिलाको अनुभव आदानप्रदान गर्ने, उनीहरुको व्यवसायलाई टेवा दिने उद्देश्यले सो कार्यक्रम गरेको मञ्चले जनाएको छ । ‘साझेदारी, समन्वय र सिर्जना’ विषयक सो कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले उद्योगधन्धाको क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले केन्द्रीय तथा प्रान्तीय क्षेत्रमा नयाँ कानून आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी भित्र्याएर महिला उद्यमको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । महिला उद्यमी बिमला श्रेष्ठले आफनो केन्या भ्रमणका बेला त्यहाँका महिला दिदीबहिनीको महिला उद्यममा पाएको सफलताबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको जानकारी गराउनुभयो ।

उहाँले नेपाली महिलाले पनि दत्तचित्त भई काम गर्ने हो भने उद्यम विकासका साथै समग्र मुलुकको नै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । लिटिल थिङ्ग्स नामक संस्थाका सहसंस्थापक आभा धितालले महिला उद्यममा व्यवसायको विकाससँगै चुनौती पनि थपिँदै जाने भएकाले महिलाको ध्यान सोमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

कञ्चनजङ्घा टी स्टेटका संस्थापक समीक्षा बाँस्कोटाले महिला पनि सीप सिकेर व्यवसाय गर्न सक्षम भएको थुप्रै उदाहरण भएको उल्लेख गर्दै महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा हालै उच्च शिक्षार्जन गरी उद्यम व्यवसायमा संलग्न विभिन्न २५ उद्यमीको सहभागिता थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ०३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।