काठमाडौं । भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)को आह्वानमा आइतबार भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ ।
‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए । प्रदर्शनकारीले मस्यौदा मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
कांग्रेसका नेता गुरमीत सपलले एक जना पनि मतदाताको नाम हट्न नदिनु निर्वाचन आयोगको जिम्मेवारी भएको बताए । मतदानको अधिकार गुमेपछि सरकारलाई जवाफदेही बनाउन कठिन हुने उनको भनाइ थियो ।
प्रदर्शनमा राजनीतिक दलसँग आबद्ध नभएका सर्वसाधारण पनि सहभागी भएका थिए। प्रदर्शनमा सहभागी अनन्त नामका एक व्यक्तिले यो कुनै राजनीतिक दलको विषय नभई लोकतन्त्रको रक्षासँग जोडिएको मुद्दा भएको बताए । नागरिकले अहिले आवाज नउठाए लोकतन्त्र जोखिममा पर्ने उनको भनाइ थियो ।
त्यस्तै, अर्का प्रदर्शनकारी भारतले मताधिकार गुम्नु अधिनायकवादतर्फ जाने बाटो हुन सक्ने भन्दै यसलाई लोकतन्त्रका लागि गम्भीर चुनौतीका रूपमा व्याख्या गरे । निर्वाचन नामावलीबाट मतदाताको नाम हटाइएको विषयलाई लिएर विपक्षी दल र सर्वसाधारणले आयोगसँग जवाफ मागिरहेका छन् । प्रदर्शनकारीले निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदाताको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।
-सीसीटीभी प्लस




















प्रतिक्रिया