काठमाडौं । कञ्चनपुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले यस वर्ष किसानहरूबाट आगामी कात्तिक २७ गतेदेखि धान खरिद गर्ने भएको छ ।
प्राथमिक खरिद समिति कञ्चनपुरको कात्तिक १६ गतेको निर्णयअनुसार कम्पनीले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गर्दै खरिद प्रक्रिया सुरु गरेको हो ।
मंगलबार सार्वजनिक गरिएको सूचना अनुसार धान बिक्री गर्न चाहने किसानहरूका लागि कात्तिक १९ र २० गते महेन्द्रनगरस्थित कार्यालय परिसरबाट कुपन वितरण गरिनेछ ।
कुपन प्राप्त गरेका किसानहरूले त्यसमा तोकिएको मितिमा गोदाममा धान ल्याएर काँटा गराउनुपर्नेछ । धान जोख्ने काम सार्वजनिक बिदा बाहेकका दिनहरूमा सञ्चालन हुने कार्यालयले जनाएको छ ।
कम्पनीले यस वर्ष एकजना किसानबाट अधिकतम ३० क्विन्टलसम्म मात्र धान खरिद गर्ने नीति लिएको छ । बिचौलियाको प्रभाव रोक्न तथा भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउन धान बिक्रीबापतको रकम सिधै सम्बन्धित किसानको बैंक खातामा दाखिला गरिने व्यवस्था मिलाइएको छ ।
बिक्रीका लागि ल्याइने धान पराल, भुसा, पोकटा, माटो र ढुङ्गा नमिसिएको सफा हुनुपर्नेछ भने कम्पनीले स्याम्पलिङ गरी गुणस्तर यकिन गरेपछि मात्र काँटा गर्नेछ ।
कुपन लिन आउँदा किसानले नागरिकता र जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को फोटोकपी अनिवार्य पेश गर्नुपर्नेछ ।
जग्गा ठेक्का वा अधियाँमा लिएर खेती गर्ने किसानको हकमा ठेक्का सम्झौता वा वडा कार्यालयले ठेक्कामा लिएको भनी दिएको सिफारिसको सक्कल पत्र आवश्यक पर्नेछ ।
त्यसैगरी धान बिक्री गर्न ल्याउँदा किसानको पहिचान खुल्नेगरी सम्बन्धित वडा कार्यालयले दिएको सिफारिसको सक्कल प्रति बुझाउनुपर्नेछ । तोकिएको मितिमा धान नल्याए अन्य दिन काँटा गर्न कम्पनी बाध्य नहुने जनाइएको छ ।






















प्रतिक्रिया