काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने बाध्यता नरहेको बताएका छन् ।
सरकारका कामकारबाहीमाथि निगरानी राख्ने, आवश्यक प्रश्न उठाउने र निर्णयको औचित्यबारे जवाफ माग्ने जिम्मेवारी पार्टीको भएको उनको भनाइ छ ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार र पार्टीको कार्यक्षेत्र फरक भए पनि सरकारका निर्णयप्रति पार्टीले आवश्यक चासो र निगरानी राख्ने स्पष्ट पारे ।
नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० परिवर्तनको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि रहेको भन्ने प्रश्नमा लामिछानेले सुरक्षा निकायका प्रमुखको जिम्मेवारी हेरफेर संवेदनशील विषय भएको बताए । यस्तो निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी भने सरकारकै हुने उनको भनाइ थियो ।
‘पार्टीले आईजीपी फेर, डीआईजी फेर, इन्स्पेक्टर वा सीडीओ फेर भनेर बिलकुल भन्दैन,’ उनले भने, ‘सरकारले काम गर्न आवश्यक कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै हुन्छ । उपयुक्त समयमा सरकारले यसको औचित्य पुष्टि गर्ला ।’
त्यस्तै, सञ्चारमाध्यमको समाचार कक्षमा प्रहरी प्रवेश गरेको घटनाबारे पार्टीले सरकारसँग गम्भीर रूपमा स्पष्टीकरण मागिसकेको उनले जानकारी दिए ।
पछिल्लो समय भइरहेका विभिन्न पक्राउका विषयमा सञ्चारकर्मीले प्रश्न उठाउँदा लामिछानेले प्रतिप्रश्न गर्दै ‘हाउ मच इज टु मच रु’ भने । सरकारले विभिन्न विषयमा अनुसन्धान अघि बढाइरहेको उल्लेख गर्दै उनले सबै घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने तर्क गरे ।
सरकार र पार्टीका प्रवक्ताले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेको बताउँदै लामिछानेले सरकारका निर्णय र कामकारबाहीबारे समयक्रममा थप स्पष्टता आउने दाबी गरे ।





















प्रतिक्रिया