काठमाडौँ । सञ्चालन आम्दानी बढे पनि उत्पादन तथा बिक्री लागतमा भएको उच्च वृद्धिका कारण सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ६८ प्रतिशतले घटेको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १० करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यसअनुसार कम्पनीको नाफा ६७.९५ प्रतिशतले घटेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने ११.५७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९७ करोड ५७ लाख ४७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब २० करोड ४४ लाख १६ हजार रुपैयाँ पुगेको छ।
तर आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सकेन। कम्पनीको बिक्री लागत गत वर्षको १ अर्ब ३६ करोड ३१ लाख १६ हजार रुपैयाँबाट बढेर १ अर्ब ९१ करोड ७३ लाख ९७ हजार रुपैयाँ पुगेको छ। बिक्री लागतमा भएको वृद्धिका कारण कम्पनीको कुल नाफा ६१ करोड २६ लाख ३१ हजार रुपैयाँबाट घटेर २८ करोड ७० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीले समीक्षा अवधिमा अन्य आम्दानीबाट ६ करोड ५४ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेको छ। यस अवधिमा प्रशासनिक खर्च ३ करोड ३८ लाख ७१ हजार, बिक्री तथा वितरण खर्च १३ करोड ३ लाख ३९ हजार र वित्तीय खर्च ६ करोड १७ लाख ७७ हजार रुपैयाँ रहेको छ। कम्पनीको कुल खर्च २२ करोड ५९ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
नाफामा आएको गिरावटसँगै कम्पनीको करअघिको नाफासमेत प्रभावित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ करोड ६९ लाख रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर १२ करोड ६४ लाख ६४ हजार रुपैयाँमा झरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३४ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३७ रुपैयाँ १ पैसा रहेको छ।
कम्पनीको कुल सम्पत्ति भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब ३७ करोड १९ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १७ अर्ब ६० करोड ६३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ रहेको छ।





















प्रतिक्रिया