काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २१ लाख ७७ हजार रुपैयाँ खुद घाटा व्यहोरेको संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६६ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
संस्थाले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३८ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २४ करोड २६ लाख ३८ हजार रुपैयाँ थियो। त्यस्तै, खुद ब्याज तथा कमिसन आम्दानी ४० करोड ८५ लाख २० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २६ करोड ३२ लाख ५३ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी ४० करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ। कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि ५ करोड ८२ लाख १ हजार रुपैयाँ छुट्याएको संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ३ लाख १८ हजार रुपैयाँ कायम भएको छ। यस अवधिमा सञ्चालन खर्च २२ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ।
संस्थाले समीक्षा अवधिमा १२ करोड ३७ लाख ४७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। कर प्रयोजनका लागि ३ करोड ७१ लाख २४ हजार रुपैयाँ छुट्याएपछि खुद नाफा ८ करोड ६६ लाख २३ हजार रुपैयाँ पुगेको हो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३ रुपैयाँ ३१ पैसा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ३ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो।
नाफामा उल्लेख्य सुधार देखिए पनि संस्थाको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ। वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा अनुपात १९.२४ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात १४.९७ प्रतिशत थियो। यसले संस्थाको कर्जा असुलीमा चुनौती थपिएको देखाउँछ।
समीक्षा अवधिमा संस्थाको कुल सम्पत्ति १५ अर्ब ९२ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो सम्पत्ति २० अर्ब ६८ करोड ६७ लाख रुपैयाँ थियो। त्यस्तै, ग्राहकबाट संकलित निक्षेप ४ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको अन्त्यमा निक्षेप ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ थियो।
संस्थाले प्रवाह गरेको कर्जा तथा सापटी १५ अर्ब १२ करोड ७२ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा १५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ थियो। यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तथा सापटी ७ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।





















प्रतिक्रिया