Logo

प्रमुख समाचार

सरकारलाई दिएको समर्थन फिर्ता लिन राजपामा चर्को दबाब



सरकारलाई दिएको समर्थन फिर्ता लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वलाई नेता तथा कार्यकर्ताले दबाब दिएका छन् ।
पार्टीको सांगठनिक अवस्था बुझ्न चारवटा प्रदेशमा आयोजित अध्यक्षमण्डलको बैठकमा नेता–कार्यकर्ताले सरकारलाई दिएको समर्थन फिर्ता लिन जोड दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बैठकमा सहभागी प्रदेश र जिल्लास्तरका नेता–कार्यकर्ताले उपलब्धिविना सरकारलाई समर्थन गर्नुको औचित्य नरहेको सुझाब दिएको अध्यक्षमण्डलका सदस्य सर्वेन्द्रनाथ शुक्लले बताए ।‘पार्टीले सरकारलाई समर्थन गरेको एक वर्षभन्दा बढी भयो, तर सरकारले पार्टीसँग गरेका प्रतिबद्धता के–के कार्यान्वयन गर्‍यो ?’ बैठकमा आएका सुझाबबारे शुक्लले नयाँ पत्रिकासँग भने, ‘उपलब्धिविनाको समर्थन फिर्ता लिन सुझाब आएको छ ।’

आगामी ७ देखि ९ वैशाखसम्म तय महाधिवेशनलाई लक्षित गरी बसेको बैठकमा जिल्ला अध्यक्ष, प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य सहभागी थिए । बैठकमा महन्थ ठाकुर भने अनुपस्थित थिए ।

प्रदेश १ को विराटनगर र २ को जनकपुरमा बैठक भएको थियो । यस्तै प्रदेश ५ अन्तर्गतका बाँके र बर्दिया तथा ७ का कैलाली र कञ्चनपुरको बैठक नेपालगन्जमा भएको थियो । प्रदेश ५ का परासी, रुपन्देही र कपिलवस्तुमा पनि अध्यक्षमण्डलको बैठक भएको थियो ।

अध्यक्षमण्डल नराख्न सुझाब, महाधिवेशनपछि एउटै अध्यक्ष रहने नेतृत्वको जवाफ

अधिकांश नेता–कार्यकर्ताले आगामी महाधिवेशनबाट अध्यक्षमण्डल नराख्न पनि सुझाब दिएका छन् । एक नेतालाई अध्यक्ष बनाउँदा पार्टी सुदृढ बन्ने धेरैको तर्क छ । ‘एक नेतालाई लोकतान्त्रिक प्रद्धतिबाट अध्यक्ष बनाउनुपर्छ भन्ने सुझाब आएको छ,’ शुक्लले भने, ‘अध्यक्षमण्डल बनाउँदा पार्टी व्यवस्थित रूपमा चल्न र विवाद कम हुन सकेन भन्ने तर्क उहाँहरूको छ ।’

बैठकमा आएका सुझाबमाथि जवाफ दिँदै अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले महाधिवेशनबाट अध्यक्षमण्डल नरहने बताएका थिए । ‘आगामी महाधिवेशनबाट अध्यक्षमण्डल रहँदैन,’ संयोजक यादवले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट एउटा अध्यक्ष चुनिन्छ ।’

तीन जिल्लामा चर्को विवाद

६ पार्टी मिलेर बनेको राजपामा अहिलेसम्म कपिलवस्तु, बाँके र कैलालीमा सबैभन्दा धेरै विवाद देखिएको छ । विवादकै कारण तीन जिल्लामा अहिलेसम्म सदस्यता वितरण र नवीकरणसमेत हुन सकेको छैन । ‘बैठकका क्रममा पनि बाँके, कैलाली र कपिलवस्तुमा धेरै विवाद देखियो ।

तीन जिल्लाकै विवादित नेताहरूका कुरा अध्यक्षमण्डलका सदस्यहरूले सुनेर टिपोट गर्नुभएको छ,’ शुक्लले भने, ‘ती विवादलाई समाधान गरेपछि मात्रै सदस्यता वितरण र नवीकरणको कार्य हुने अवस्था देखियो ।’

धनुषा, परासी, रुपन्देही, बर्दिया र कञ्चनपुरमा पनि विवाद रहेको नेताहरूले बताएका छन् । ६ पार्टी एकतापछि महाधिवेशन नभएकाले संगठन भएका सबै जिल्लामा कुनै न कुनै विवाद छ । तराईका ३५ जिल्लामा राजपाको संगठन रहेको महासचिव केशव झाले जानकारी दिए ।

भैरहवामा संगठन विस्तारबारे बैठक

शनिबार अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवसहित सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, शरत्सिंह भण्डारी, राजकिशोर यादव र शुक्लको सहभागितामा भैरहवामा केन्द्रीय समिति बैठक बस्यो ।बैठकमा अध्यक्षमण्डलका सदस्य र केन्द्रीय सदस्यहरूले जिल्ला समितिहरूसँग जिल्लामा पार्टीको अवस्था, संगठन विस्तार, महाधिवेशनलगायत विषयमा छलफल गरेका छन् ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी, कपिलवस्तु, रुपन्देही र नवलपरासी तीनै जिल्लाको अध्यक्षमण्डलका संयोजकरसदस्यको उपस्थिति थियो । अध्यक्षमण्डलका सदस्यहरूले रुपन्देही, नवलपरासी र कपिलवस्तुका पार्टीका नेता एवं कार्यकर्तासँग छुट्टाछुट्टै संगठन विस्तारसम्बन्धी अन्तक्र्रियासमेत गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार ०४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।