Logo

प्रमुख समाचार

देउवालाई महासमिति सदस्यबाट विशेष महाधिवेशन आब्हानको खतरा



प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली काँग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई महासमिति बैठकले निर्णय गरेका विषयलाई समेटेर विधान संशोधन गरी तयार गर्ने दवाव बढेको छ । महासमितिमा उठेका विषयलाई बेवास्ता गर्दै देउवा पक्षले आफू सुहाउँदो विधान तयार गरेपछि विद्रोह उब्जिने खतरा बढेको छ ।

५६ जिल्ला सभापतिहरुले नेतृत्वलाई दवाव दिन यसअघि नै महासमितिको म्यान्डेटअनुसार अगाडि बढ्न चेतावनी दिइसकेका छन् । उनीहरुको चेतावनीले विशेष महाधिवेशन बोलाउन सक्ने खतरा उब्जिएको छ । केन्द्रमा आउनका लागि स्थानीयतहदेखि नै जितेर आउनु पर्ने पक्षमा महासमिति छ ।

यो विषयमा जिल्ला सभापतिहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि लागिरहेको छ । यसअघि देउवा पक्षले बहुमतका आधारमा निर्णय गर्दा सिटौला र पौडेल पक्षले नोट अफ डिसेन्ट लेखिसकेको छ ।

पर्ख र हेरको अवस्थामा इतर पक्ष

देउवा इतरको पक्ष पर्ख र हेरको अवस्थामा रहेको छ । केन्द्रीय कार्यसमिति बैठकले नै संवोधन गर्यो भने आन्दोलनमा नजाने तर केन्द्रीय कार्यसमितिले केही पनि नगरी जवरजस्ती अगाडि बढ्यो भने विशेष महाधिवेशनका लागि प्रक्रिया अगाडि बढाउने उनीहरुको भनाई छ ।

नेता शोभाकर पराजुलीले ५६ जना जिल्ला सभापतिले सभापतिको विरोध गरेको र त्यसपछि पनि सुनवाइ नभएकाले विशेष महाधिवेशनको चर्चा चलेको बताए । उनले भने, ‘स्वभाविक रुपले चार वर्षे कार्यकाल अनुसार २०७६ को फागुनमा नियमित महाधिवेशन हुनु नै छ । तर सभापति देउवाले एक वर्ष थप समय बढाउने लक्षण ल्याइसकेकाले विशेष महाधिवेशन जोड दिइएको हो ।’

नेता पराजुलीले भने, ‘केन्द्रीय कार्यसमितिले महासमितिको निर्णय उल्टाउँदैछ । यो अपहेलना हो । यसको विपक्षमा ५६ जिल्ला सभापतिले पनि विरोध गरेका थिए । स्थानीय तहदेखि चुनेर आउनु पर्नेमा त्यसो नगर्ने बनाउन थालिएको छ । चुनिएर आउँदा सबै क्रियाशिल हुने देखिएको थियो ।’

उनले महाधिवेशन सार्नुपर्ने कुनै कारण नदेखिएको जनाउँदै सोमबारदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पनि सच्याएन भने देशभरका काँग्रेस कार्यकर्ताहरु जाग्ने बताए । उनले अगाडि भने, ‘१३ औं महाधिवेशनपछि विधानमाथि धमाधम हस्तक्षेप भइरहेको छ । जुन निकै गलत हो । यसले काँग्रेसको अस्तित्व नै समाप्त पार्न सक्छ ।’

त्यसैगरी अर्का काँग्रेस नेता मधु आचार्यले सोमबारको केन्द्रीय समिति बैठकको प्रतिक्षामा रहेको बताए । उनले भने, ‘महासमिति बैठकको निर्णय नै कार्यानवयन हुने आशामा छौं । हाम्रो निर्णयमाथि विश्वासघात भए विशेष महाधिवेशनको आब्हानका लागि पनि जान्छौं ।’

उनले ‘हस्ताक्षर अभियान सुरु नगरेको तर पहिलो फेजमा त्यसको पुनर्विचार होस् भन्ने हो । यदि सुनुवाइ नभए विशेष महाधिवेशनका लागि पहल गर्न वाध्य हुनेछौं ।’ आचार्यले भने , ‘महासमिति सदस्यभन्दा माथि केन्द्रीय सदस्यहरु छैनन् । तसर्थ पराक्रममुखी पार्टी बनाउँ भनेर लागेका हामीहरुलाई अवरोध गर्ने काम नेतृत्वले नगरोस् भन्ने हो ।’

उनले अगाडि थपे, ‘यो मुद्दामा हिजो सहमत छौं भन्ने आज फेरि बेवास्ता गर्ने त मिलेन ।

के भन्छन् प्रवक्ता शर्मा ?

कांग्रेस केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने महासमितिले सहमति गर्न नसकेपछि केन्द्रीय कार्यसमितिलाई जिम्मा दिएकाले सोही अनुसार नै प्रक्रिया अगाडि बढिरहेको बताए ।

उनले भने, ‘महासमितिले त केन्द्रीय समितिलाई जिम्मा दिएको हो । परिमार्जन सहित गर्ने भनेर भनिसकेपछि त्यसमा विवाद गर्नुको अर्थ छैन ।’

उनले सर्वाधिकार केन्द्रीय कार्यसमितिलाई भएकाले कार्यसमितिले मिलाएर नै विधान बनाउने दावी गरेका छन् ।
उनले बाहिर हल्ला भएका भरमा विशेष महाधिवेशनका कुरा नउठेको बताए ।

के छ विशेष महाधिवेशनको प्रक्रिया ?

अहिलेसम्म विधानमा भए अनुसार ४० प्रतिशत महासमिति सदस्यले माग गर्नासाथ विशेष महाधिवेशन गराउनु पर्ने हुन्छ ।
त्यसैगरी पदाधिकारीलाई बर्खास्त गर्नुपर्दा २५ प्रतिशत हस्ताक्षर जरुरी हुन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।