जिल्लाका स्थानीय तहबाटै नागरिकता र मतदाता परिचय पत्र प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना र चन्द्रकोट गाउँपालिकाको समन्वयमा सञ्चालित २ दिने निःशुल्क घुम्ती शिविरमा वडा नम्बर ४ शान्तिपुरमा नागरिकता र मतदाता परिचय पत्र वितरण गरिएको छ। शिविरमा तीन सय ३३ जनाले वंशजको आधारमा नागरिकता पाएका छन् ।
जस मध्ये २ सय २१ महिला र १ सय १२ पुरुष रहेका हुन् । त्यस्तै तीन सय ७३ जनाले फोटो सहितको मतदाता नामवलीमा नाम दर्ता गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गोपाल पाण्डेले जानकारी दिए । नागरिकलाई स्थानीय स्तरमै सुविधा दिने हेतुले जिल्लाका सबै स्थानीय तहहरुमा घुम्ती शिविर मार्फत नागरिकता वितरण सँगै मतदाता नामवली दर्ता गराउर्दै आएको प्रशासकिय अधिकृत पाण्डेले बताए ।
चैत ८ र ९ गते गरी दुई दिन सम्म सञ्चालन गरिएको उक्त शिविर बाट वडा २ का ७५ बर्षीय दलबहादुर गुरुङले समेत नागरिकता लिएका छन् । नागरिकता लिनेमा अपाङ्ग तथा अशक्तहरूको संख्या धेरै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोही अवसरमा कृषि ज्ञान केन्द्र गुल्मीबाट ३ सय ११ जन कृषकलाई उन्नत बीउ विजन वितरण गर्नुका साथै कृषि परामर्श दिइएको थियो । त्यस्तै शिविरमा जिल्ला अस्पतालको सहकार्यमा १ सय ३५ जना बिरामीको जाँच गरिएको छ । जाँच पछि ३३ हजार ७ सय ५० रुपैयाँ बराबरको निःशुल्क औषधि समेत वितरण गरिएको अस्पतालले जनाएको छ । शिविरबाट १० वटा नवीकरण र २९ वटा साना तथा घरेलु उद्योग दर्ता गरिएको छ भने ८९ हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
शिविरको अन्तिम दिन शुक्रवार प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एकीकृत घुम्ती शिविर तथा त्यस क्षेत्रमा रहेका सरकारी कार्यालयको अनुगमन गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेल, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्री तथा सदरमुकामबाट गएको पत्रकारको समूह सहितको टोलीले शान्तिपुरमा रहेको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय साथै एसईई परीक्षाका केन्द्र रहेका बिद्यालयका २ वटा केन्द्र, बजार तथा मजुवामा रहेको मालपोत कार्यालयको पनि अनुगमन गरेका थियो ।
अनुगमन पछि प्रमुख जिल्ला अधिकारी पौडेलले सबै कर्मचारीलाई जनताको मन जित्ने गरी काम गर्न सुझाव दिएका छन् । सोही अवसरमा सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख (डिएसपी) दिनेश रायमाझीले चन्द्रकोट बहुमुखी क्याम्पसका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा लागू औषध नियन्त्रणको विषयमा प्रशिक्षण समेत दिएका थिए ।
सशस्त्र प्रहरीले जिल्लाका ३२ वटा स्थानमा ३५ सय भन्दा बढीलाई विपद् व्यवस्थापन तथा लागू औषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको (डिएसपी) रायमाझीले बताए ।




















प्रतिक्रिया