Logo

खेलकुद

आईपीएल : कोलकाताको तेस्रो जित, बैंङ्लोर लगातार पाँचाैं हार



भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ। गएराति भएको रोमाञ्चक खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंङ्लोरलाई ५ विकटले हराउँदै तेस्रो जित हात पारेको हो।

बैंङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको बैंङ्लोरले दिएको २ सय ६ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो।

कोलकाताको जितमा आन्द्रे रसेलले आक्रमक ब्याटिङ गरे। रसेलले मात्र १३ बलमा अविजित ४८ रन बनाए। उनले ७ छक्का र १ चौका प्रहार गरेका थिए। यस्तै क्रिस ल्यानले ४३, नितिस रानाले ३७ तथा रोबिन उथप्पाले ३३ रन बनाए।

कप्तान दिनेश कार्तिक १९ रनमा आउट हुँदा सुनिल नारिनेले १० रन जोडे। बैंगलोरका नाब्दिप साईनी र पवन नेगीले समान २-२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बैंङ्लोरले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २०५ रन बनाएको थियो।

बैंङ्लोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले। कोहलीले ८४ तथा डी भिलियर्सले ६३ रनको योगदान दिए। कोलकत्ताविरुद्धको खेलसँगै कोहलीले टी–ट्वेन्टी क्रिकेटमा ८ हजार रन पुरा गरेका छन्।

यस्तै कोहली टी–ट्वेन्टी क्रिकेटमा ८ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बने। कोहली अघि सुरेश रैनाले ८ हजार रन पुरा गरेका थिए। यस्तै मार्कुस स्टोईनिसले अविजित २८ तथा अक्षर पटेलले २५ रन बनाए।

कोलकाताका सुनिल नारिने, कुलदीप यादब र नितिस रानाले समान १-१ विकेट लिए। जितसँगै कोलकाताले ४ खेलमा ६ अंक जोडेको छ। कोलकाता दोस्रो स्थानमा छ। बैंङ्लोरको भने यो लगातार पाँचौ हार हो। जारी सिजन बैंङ्लोर जित निकाल्न नसक्ने एक्लो टोली हो। पाँच खेल गुमाएको बैंङ्लोर लिगको पुछारमा छ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ०५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।