Logo

सोनिया गान्धीले गरिन् कांग्रेसमा महत्वपूर्ण परिवर्तन, महासचिवबाट हटाइए गुलाम नबी आजाद



भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले पार्टीमा महत्वपूर्ण फेरबदल गरेकी छन्।

गान्धीले गुलाम नबी आजाद र मल्लिकार्जुन खडगेसति चार वरिष्ठ नेतालाई महासचिव पदबाट मुक्त गरेकी छन् । पार्टीको सर्वोच्च नीति निर्धारण इकाई कांग्रेस कार्य समिति (सीडब्लूसी) पनि उनले पुनर्गठन गरेकी छन्।

अखिल भारतीय कांग्रेस समितिका महासचिव र इन्चार्जहरुको नयाँ सूचि जारी भएको छ । पार्टीका संगठन महासचिव केसी वेणुगोपालले जारी गरेको वक्तव्य अनुसार गुलाम नबी आजाद, मोतीलाल वोरा, अंबिका सोनी र मल्लिकार्जुन खडगेलाई महासचिव पदबाट मुक्त गरिएको छ।

यस्तै अध्यक्ष सोनिया गान्धीले पार्टीको संगठनात्मक र अरु कामकाजसँग जोडिएका विषयमा आफ्नो सहयोगका लागि विशेष समिति गठन गरेकी छन्। यस्तै गान्धीले एआइसीसी सेन्ट्रल इलेक्सन अगोरिटीको पनि पुनर्गठन गरेकी छन् । हरियाणा राज्यका इन्चार्ज समेत रहेका आजादको स्थान अब विवेक बंसलले लिने भएका छन् ।

केही समयअघि कांग्रेसका केही वरिष्ठ नेताहरुले अध्यक्ष सोनिया गान्धीलाई पार्टीमा महत्वपूर्ण फेरबदलको माग गरी पत्र लेखेका थिए, जसमा गुलाम नबी आजादको नाम प्रमुख थियो । आजादलाई महासचिवबाट हटाएर सीडब्लुसीमा राखिएको छ । पत्र लेख्ने मध्येका जितिन प्रसादलाई पश्चिम बंगला राज्यका इन्चार्जको जिम्मा दिइएको छ ।

कांग्रेसमा आएको फेरबदलबाट सबैभन्दा ठूलो फाइदा रणदीप सुरजेवालालाई भएको छ । उनी अध्यक्षलाई सल्लाह दिने उच्च स्तरीय ६ सदस्यीय विशेष समितिका सदस्य भएका छन् । यस्तै उनलाई महासचिव पनि बनाइएको छ । सुरजेवालाले कर्नाटक राज्यको इन्चार्जको जिम्मा पनि पाएका छन् । प्रियंका गान्धी उत्तर प्रदेश राज्यको इन्चार्ज भएकी छन् ।

मुकुल वासनिकलाई मध्य प्रदेशमा पार्टी महासचिवको जिम्मेवारी दिइएको छ । यस्तै हरीश रावतलाई पञ्जाब, ओमान चांडीलाई आन्ध्र प्रदेश, तारीक अनवरलाई केरल र लक्षद्वीप, जितेन्द्र सिंहलाई असाम तथा अजय माकनलाई राजस्थानको जिम्मेवारी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केसी वेणुगोपाललाई संगठनको जिम्मेवारी दिइएको छ । मधुसूदन मिस्त्रीलाई गान्धीले केन्द्रीय चुनाव समितिको अध्यक्षमा नियुक्त गरिएको छ। यस्तै राहुल गान्धीका प्रिय मानिने मनकीम टेगोरलाई तेलंगनाका इनचार्ज बनाइएको छ।

गएको अगस्ट २४ को सीडब्लुसीको बैठकमा भएको सहमति अनुसार गठन गरिएको ६ सदस्यीय विशेष समितिमा एके एन्टनी, अहमद पटेल, अंबिका सोनी, केसी वेणुगोपाल, मुकुल वासनिक र रणदीप सिंह सुरजेवालालाई राखिएको छ।

प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार  ९ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।