Logo

प्रमुख समाचार

रिना मृत्यु प्रकरण : मध्यरातमा ठेला गुडाउने को थिए ? खुल्यो यस्तो रहस्य



शनिबार विहान डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेतको मृत्युको प्रहरीले गुथ्थी पत्ता लगाउन नसकिरहेका बेला बिहीबार सीसीटीभी फुटेज बाहिरियो ।

फुटेजमा रिनाको शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको देखिन्छ । चालकको अनुहार चिनिँदैन तर, रिक्सामा केही देखिन्छ । केही घन्टापछि फेरि रिक्तो रिक्सा त्यही सडकमा गुड्छ ।

यसले रिनाको मृत्युबारे अनेक अड्कल काटिरहेका स्थानीयले अर्को अख काट्छन्, ‘रिक्सामा देखिएको अज्ञात बस्तु हत्या गरेर फाल्न लगेको रिनाको शव हुनसक्छ ।’ घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई पनि सीसीटीभी फुटेजले आकर्षित गर्छ ।

प्रहरीले मध्यरातमा सीसीटीभीमा कैद भएका ठेला सञ्चालकको पहिचान पनि गरेको छ । तर, उनको रिना मृत्य प्रकरणमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ठेला चालक तरकारी पसलमा काम गर्ने मजदुर भएको खुलेको छ । ‘राति ठेला कुदाउँदै आएका व्यक्ति मजदुर हुन्’ प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले भने, ‘रिनाको मृत्यु प्रकरणमा उनको संलग्नता देखिँदैन ।’

उनको नाम भने सार्वजनिक गरिएको छैन । उनले प्रहरीलाई दिएको बयानअनुसार राति ठेला चलाउने क्रममा शव देखेका थिए तर, प्रहरीलाई खबर गरेनन् ।

पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आयो- प्रहरीकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन ।

पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । ‘प्रारम्भिक पोष्टमार्टम रिपोर्टले टाउको र छातिभित्र चोट लागेको देखिन्छ’ उनले भने ।

स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकमा फालेको हुनसक्ने आशंका गरेका थिए । तर प्रारम्भिक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन । यद्यपि फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्टमा हेरेर कोठा फर्किएकी रिना बस्नेत डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनका श्रीमान विदेशमा थिए । छोरासँग बस्दै आएकी उनी कमल नेपालसँग प्रेम सम्बन्धमा थिइन् ।

कमलको पोलिग्राफ टेस्ट – प्रहरीले रिनाका प्रेमी भनिएका नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–३ घर भइ पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

रिनाको मृत्युलाई लिएर स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २९ सेल अश्रूग्यास प्रहार गरेको थियो । मंगलबारै साँझ प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाकोको नेतृत्वमा छानविन टोली गठन भएपछि आन्दोलन रोकिएको छ ।

यसैबीच धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा फेरि अर्की महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् ।

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरिएको थियो । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार बिहान ११ बजेतिरको हो ।

‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौँ ।’, उनले भने ‘घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजि भैरहेको छ । घटना के कारणले भएको हो भन्ने बारे अहिलेसम्म पत्ता लागेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

गएको वैशाख ५ गते पनि धनुषाको शहीदनगर नगरपालिका–१ पुरवारी टोल चिरैयाकी २० वर्र्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए ।

यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । प्रदेश २ सरकारले छोरीलाई बचाउन मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान नै सुरु गरेको छ । तर पनि यहाँ विभिन्न बाहानामा महिलामाथिको हिंसा बढिरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ०३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।