पूर्वसभासद् गायत्री साह पक्राउ परेकी छिन् । साहलाई उनका श्रीमान राजेश महतोसहित ललितपुरस्थित मेडिसिटी अस्पताल परिसरबाट प्रहरीले आइतबार अपराह्न पक्राउ गरेको हो ।
पूर्वसभासद् साहले २८ फागुनमा सोही अस्पतालमा छोरा जन्माएकी थिइन् । तर, उनले आफूलाई प्रसूति गराउँदा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। नीरासिंह श्रेष्ठको लापरबाहीका कारण छोरामा ‘डाउन सिन्ड्रम’ भएको बताउँदै छोरा जिम्मा लिन मानिरहेकी छैनन् ।
साहले डाक्टर श्रेष्ठकै लापरबाहीका कारण बच्चाको यस्तो भएको भन्दै यसको जिम्मा अस्पतालले लिनुपर्ने दाबी पनि गरेकी छिन् ।तर, अस्पतालले भने यसमा अस्पतालको कुनै कारण नभएको बताउँदै पटकपटक बच्चा जिम्मा लिन आग्रह गरे पनि उनीहरूले बच्चा जिम्मा लिन मानिरहेका छैनन् । यसै विषयलाई लिएर साहदम्पती केही दिनदेखि अस्पतालमै आन्दोलनरत थिए ।
सोही क्रममा आन्दोलन गर्दै अस्पताल परिसरमा होहल्ला गरेपछि उनीहरूलाई आइतबार पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।बच्चाको दुवै खुट्टा बांगो रहेको देखिएपछि एनआईसीयूमा उपचार गराइरहेकै अवस्थामा साहले बच्चा छोडेकी थिइन् । बच्चा अहिले पनि मेडिसिटी अस्पतालको एनआईसीयूमै रहेका छन् ।सांसद रहेकै अवस्थामा पनि साह विभिन्न काण्डमा चर्चामा आएकी पात्र हुन् ।




















प्रतिक्रिया