सरकारले गुठी सामन्तवादसँग जोडिएको भन्दै यसको समस्या पनि समाधान गर्न सरकार लागिपरेको बताएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा गुठी, हलिया, कमलरीप्रथा सामन्तवादसँग जोडिएको उल्लेख गर्दै त्यहाँ रहेका समस्या पनि समाधानको प्रयास गरेको बताए ।
‘हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?’ मन्त्री बाँस्कोटाले भने, ‘गुठी, हलिया, कमलरीले सामन्तवादको आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छ । किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने ? भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने ?’
उनले गुठीको समस्या काठमाडौं उपत्यका र बाहिर फरक फरक रहेकाले सरकारले समाधान गर्ने बताए ।उनले सरकार चोकै चोक रहेको विशाल राजमार्गमा हिँडेकाले कहिलेकाहीँ समस्या आउने बताए । ‘कानुन नभए बनेन भन्नुहुन्छ ?’ उनले भने, ‘यो परिवर्तन एकप्रकारको छलाङ पनि हो ।’
मल नपाएका किसानहरूका लागि खुसीको खबर !
सरकारले भारत सरकारसँग सिधै रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । जि टु जि माध्यमबाट मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृत दिइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
सरकारले मल समयमै मल खरिद गर्न नसक्दा किसानले मल पाएका थिएनन् । मकै लगाउने समय घर्की सकेको तथा धान बाली लगाउने समय आइसक्दा पनि मल उपलब्ध नहुँदा देशभरका किसानहरु चिन्तित बनेका छन् ।
सार्वजनिक खरिदको प्रक्रियाबाट जाँदा समयमै मल ल्याउन सम्भव नहुने भन्दै कृषि मन्त्रालयले भारत सरकासँग सिधै खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लिएको थियो ।
हाम्रो युद्धले नेपालमा शान्ति जन्मायो : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विनाशकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–६ माङ्खामा बिहिवार आयोजित श्री कूपकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो युद्धले नेपालमा शान्ति जन्मायो । युद्धमा सहभागीलाई थाहा हुन्छ, युद्धको पीडा के हुन्छ र शान्ति महत्व के हुन्छ भन्ने । भूकम्पले नेताहरुको अंककार तोड्यो र सबै जनताको सेवामा एकजुट भए । सोही एकताका कारण संविधान निर्माण सम्पन्न भयो ।’
उनले आफू प्रतिपक्षमा रहेपनि विकाशकारी भूकम्पमा सबै दलहरुलाई राहात र उद्दारमा सहभागी हुन आव्हान गरेको स्मरण गरे । नकारात्मक कुरालाई सकारात्मक कुरामा रुपान्तरण गर्न सकिने यो एक उदाहरण भएको उनको भनाई थियो ।
प्रचण्डले भने, ‘समृद्धिका लागि हामीले छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्धको वातावरण बनाएर नेपाललाई नयाँ युगतिर लैजानुपर्ने आवश्यकता छ । त्यो कामको सुरुवात भई नै सकेको छ ।’
उनले भूकम्पको समयमा आउँदा गाउँमा पीडा देखेको स्मरण गर्दै अहिले सबैमा प्रसन्नता, जोस र उमङ्ग आफूले पाएको पनि बताएका छन् । अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोकवासीको विकास र समृद्धिमा सधैं आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
नेपालमा राजनीतिक स्थायीत्व मूलभूत रुपमा प्राप्त भइसकेको बताउँदै अब आर्थिक समृद्धिको नयाँ युगतिर देशलाई लिएर जानुपर्नेमा जोड दिए । उनले भने, ‘नीजि क्षेत्र र सार्वजनिक क्षेत्रको सहयोग विना अहिलेको २१ औं शताब्दीमा विकासलाई गति दिन सम्भव छैन ।’ अध्यक्ष प्रचण्डले तातोपानी नाका जनताका लागि जसरी खुल्नुपथ्र्यो त्यसरी खुल्न अझै बाँकी रहेको बताउँदै त्यसका लागि अझै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बाबुराम र उपेन्द्रको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न के ?
तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन् ।
पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए ।अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए ।
‘तत्कालीन एमाले, माओवादी केन्द्र र समाजवादी फोरमबीच संविधान संशोधन गर्ने सहमति भएपछि हामी सरकारमा सहभागी भएका हौं । संविधान संशोधन हुनुपर्छ । भएन भने सरकार छोड्छौं । अहिले त्यसका लागि हामी छलफल गरिरहेका छौं,’ यादवले भने ।
उनले आज दर्ता भएको पार्टीको चुनाव चिन्ह भने टुंगो लागिनसकेको बताए ।‘त्यसलाई हामीले अहिले खाली राखेका छौं,’ यादवले भने ।एक हुनुअघि फोरमले मसाल र नयाँ शक्तिले आँखालाई चुनाव चिन्ह बनाएका थिए । स्थानीय चुनावमा भने नयाँ शक्तिले फोरमको मसाल चिन्ह प्रयोग गरेको थियो ।




















प्रतिक्रिया