Logo

टिप्पणी

राजाले गर्ने सबै काम राष्ट्रपतिले गरेपछि राजतन्त्र र गणतन्त्रमा के फरक ?



राजाले गर्ने सबै काम राष्ट्रपतिले गरेपछि राजतन्त्र र गणतन्त्रमा के फरक भनेर अहिले जनताले प्रश्न गर्न थालेका छन् । हिजो राजा जहाँ जान्थे आज राष्ट्रपति पनि त्यहीँ गएकी छिन् भने दुवै तन्त्रमा जनताले खासै भिन्नता पाउन पनि सकेका छैनन् ।
राजतन्त्र असफल भयो, जनताको पक्षमा भएन भनेर पटकपटक विभिन्न प्रकारका आन्दोलनबाट गणतन्त्र स्थापना भयो । गणतन्त्र आएको ११ वर्ष भएको छ तरपनि जनताले यसको अनुभुति गर्न पाएका छैनन् ।

गणतन्त्र स्थापना भएकामा खुशी हुनुको साटो उल्टै दुःख मान्ने अवस्थाको सिर्जना भएको छ । जनताको छोरो वा छोरी राष्ट्रपति भनियो आखिर जो भएपनि मान्छे नै हुने हो यसको अर्थ मात्र राजसंस्थाको अन्त्य भयो तर त्योभन्दा खतरनाक गणतन्त्र भएपछि दिनैपिच्छे मानिसहरु गुनासो गर्न थालेका छन् । हिजो एउटा राजा थिए तर अहिले भने सबै आफूलाई राजा सम्झन थालेका छन्, फरक यतिमात्र हो छोटे राजा भनिनेसँग राजसंस्थाको कुनै सम्बन्ध छैन ।

आज राष्ट्रपति पनि महत्वाकांक्षी भएकी छिन् । कतै यात्रामा जानुपर्दा अनावश्यक रुपमा भड्किलो व्यवहार देखाउने शैली रोकिएको छैन । राष्ट्रपतिको सवारमा काठमाडौंको सडक घण्टौं जाम हुने गरेको छ भने मानिसहरु जामका कारण निसासिन पुगेका छन्, यसबारे राष्ट्रपति बोल्दिनन् ।

प्रथम राष्ट्रपति डा. रामबरण यादवले त आफू सवार हुँदा अनावश्यक सडक व्यवस्था गर्नुपर्दैन भनेर भनेका समेत थिए । उनी धेरैजसो कार्यक्रम आफ्नै सरकारी निवास शितलनिवासमा गर्ने गर्दथे । केही दिनअघि राष्ट्रपतिको सवारमा सडक जाम हुँदा जनताले विरोध गरेर सवारी कुदाइदिए ।

समग्रमा भन्दा राजतन्त्र र गणतन्त्र जे भनिएपनि जनताले न्याय पाएका छैनन् र उनीहरु भन्छन् ‘ बरु राजतन्त्रै पो ठीक हो कि गणतन्त्रले पनि के दियो र ।’ राजनीतिक अस्थिरता भएपछि सर्वसाधरणहरु पनि राजतन्त्रको पक्षमा खुलेरै बोल्न थालेका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १५:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।