Logo

पत्रपत्रिका

काठमाडौँको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?



एक सातायता बढेको तापक्रमले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवनमा असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम वृद्धि भएको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले केही दिनकमा लागि बिदासमेत दिएका छन् ।

काठमाडौँमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो । शुक्रबार काठमाडौँमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभरको तापक्रम नबढ्ने जनाएको छ ।

आइबार दिउँसोदेखि स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव बढेपछि थप गर्मी नबढ्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।

विश्वलाई नेपाल चिनाउने, हिमाल मात्रै कति देखाउने ?

कीर्तिपुरको चोभारमा मञ्जुश्रीको विशाल मूर्ति स्थापना गरिएपछि नेपाललाई विश्वमा परिचित गराउँदा गर्वको अनुभूति गर्नेहरुले थप आधार पाएका छन् । चोभारको गल्छी काटेर उपत्यकाको पानी बाहिर बगाई यस भूभागलाई बस्ती योग्य बनाउने पुरुष वास्तवमै विशालतम व्यक्तित्व हुन्, उनको शालिक पनि विशाल बन्नु आवश्यक थियो । जलविनायक सामुदायिक वन उपभोक्ता समितिको पहलमा निर्मित ३३ फिट अग्लो विशाल शालिक शनिबार विधिवत रुपमा अनावरण गरियो ।

‘बौद्ध दर्शनको अध्ययनका क्रममा मैले विश्वका धेरै मुलुक भ्रमण गरें, तर यति अग्लो मञ्जुश्रीको मूर्ति मैले अन्त कतै देखेको छैन’ बौद्ध विद्वान अजितमान तामाङले भने । उनका अनुसार चीनको उथाइसानमा मञ्जुश्रीका धेरै मूर्ति देखिन्छन्, तर यति अग्ला छैनन् ।

चीन तर्फबाट नेपाल आई योगदान गर्ने विद्वान्को इतिहासलाई उजागर गर्न, ढुंगाको यति चिल्लो कलात्मक मूर्ति विश्वलाई देखाउन र बुद्ध तथा बोधिसत्व मञ्जुश्रीको विचार विस्तार गर्न चोभारको मञ्जुश्रीको मूर्तिले विशेष महत्व राख्नेछ ।

विशाल कायका कारणले मात्र मञ्जुश्रीको श्रीवृद्धि भएको होइन, उनलाई विश्वले मान्ने २८ प्रकारका बुद्धमध्ये एक भएकाले पनि उनको महिमा उच्च छ । यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।

उपत्यकामा चोरको बिगबिगी

राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान रु प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।

पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।

प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सिंहदरबारभित्रको हेल्थ डेस्कमै अत्यावश्यक औषधि अभाव

सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ ।

सिंहदरबारभित्रका करिब सात हजार कर्मचारीको स्वास्थ्योपचारका लागि भनेर सरकारले १६ फागुन ०७४ देखि पिएचसीसरहको स्वास्थ्य संस्था (हेल्थ डेस्क) सञ्चालन गरेको थियो । तर, महिनौँदेखि औषधि अभाव हुँदा कर्मचारीले स्वास्थ्य सेवा पाएका छैनन् । नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेको समाचार छ।

बन्धक बनाएर यौन धन्दा

काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् ।

होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार भन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए ।होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छान खाना पनि नपाएको पीडित युवतीले बताएकी छिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।

ऋण काढेर यार्सा टिप्न गएकाहरु निराश बनेर भारततर्फ

नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे ।

गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्सागुम्बा खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ ।

नलगाड नगरपालिकाका मोती ध्यारको हालत पनि उस्तै छ । यार्सागुम्बा खोज्न डोल्पा गएका उनी पनि रितो हात फर्केको बताउँछन् । तीन वर्षअघि दुई सय १० वटा यार्सागुम्बा टिपेर दुई लाख १० हजार आम्दानी गरेका मोती यो वर्ष प्रवेश शुल्कबापतको रकमसम्म उठाउने यार्सागुम्बा नपाएपछि घर फर्केका छन् ।

उनले गाउँमा ऋण काढेर डोल्पाका पाटनमा यार्सागुम्बा खोज्न गएको बताए । उनका अनुसार डोल्पाका केही यार्सा पाटन स्थानीयले कब्जा गरेर बसेका छन् । बाहिरबाट जाने संकलनकर्तालाई प्रवेश गर्न दिइएको छैन ।

विगतमा जस्तो यो वर्ष यार्सागुम्बा नपाउँदा संकलनकर्ता निराश बनेका छन् । ऋण काढेर गएकाहरू ऋण नै तिर्ने रकम नउठ्दा निराश बनेको अर्का यार्सा संकलनकर्ता मोतीराम ध्यारले बताए । नयाँ पत्रिकामा हेमन्त केसीको समाचार छ ।

कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित

कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो ।

भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् । परियोजनाका अधिकारी निर्देशनमा ठेकेदारले मेसिन लगाएर गहिरो र फराकिलो बनाउने काम गरिरहेको वडा अध्यक्ष बिन्देश्वर यादवले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।

गुठी विधेयक सच्याउन नेकपा नेताहरूको दबाब

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ लाई सरकारले संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने बताएका छन् । नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र मणि थापाले गुठी विधेयक स्थगन गरी सरोकारवालासँग छलफल गर्न सुझाव दिए ।उनीहरूले सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याइएकाले संसद्मा पेस गर्नुअघि नै विवादित बनेको र परिमार्जनको विकल्प नरहेको स्पष्ट पारे । नेकपाका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरोकारवालासँग छलफल नै नगरी विधेयक बनाउने र बाहिर हल्ला गर्ने विषय दुवै गलत भएको उल्लेख गर्दै परिमार्जन गर्नुको विकल्प नभएको बताए ।

‘पहिलो कुरा विधेयक संसद्मा प्रस्तुत भएकै छैन, विधेयक संसद्मा नआईकन बाहिर आयो अनि हल्ला धेरै भयो तर सरकारले पनि विधेयक तयार गर्दा सरोकारवालासँग छलफल गरेन । त्यसैको परिणामस्वरूप अहिले विरोध भइराखेको छ,’ खनालले भने । सरकारले विधेयकबारे पर्याप्त छलफल गरेर मात्रै संसद्मा पेस गर्नुपर्नेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार ०२:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।