Logo

प्रमुख समाचार

कांग्रेसले सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने



नेपाली कांग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गरी भदौ २० र २१ गते काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिन लागेको जानकारी दिएको हो ।

प्रदेश–३ को प्रशिक्षण कार्यक्रम दुई स्थानमा गर्ने यसअघिको निर्णयअनुसार भदौ २० र २१ गते भक्तपुरको बोडेमा सात जिल्लाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

कांग्रेसले सात जिल्लाको महाधिवेशन प्रतिनिधलाई भदौ २० गते विहान ८ देखि १० बजेसम्म नाम दर्ता गराउन अनुरोधसमेत गरेको छ ।यस्तै, प्रदेश–३ को रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा पछि प्रशिक्षण दिने भएको छ ।

यसैगरी प्रदेश–१ को धनकुटा र मोरङ, प्रदेश–२ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिमको कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरुबीच दोस्रो भिडियो कन्फरेन्स

स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच मंगलबार दोस्रो पटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए।

यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स छलफल भएको थियो तर यो मन्त्रिपरिषद्को औपचारिक बैठक भने होइन । प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने कार्यविधि नेपाल सरकारले यसअघि पारित गरेको थियो ।

यही भदौ ५ गते उपचारका लागि त्यसतर्फ गएका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निस्काशन गरी निराकरणका लागि प्लाजा फेरेसिसको चक्र पूरा हुन लागेको उनको सचिवालयले जनाएको छ । उनको त्यहाँस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलवार १४:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।