Logo

गण्डकी प्रदेश

कास्की उपचुनाव : नेकपाबाट आयो विद्यालाई झड्का लाग्ने संदेश



कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि नेकपा गण्डकी प्रदेश कमिटीले ३ जनाको नाम सिफारिस गरेको छ । गएको शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले विद्या भट्टराईलाई मात्र एकल उम्मेदवार सिफारिस गरेको थियो । तर पछि केन्द्रले ३ जनाको नाम मागेपछि प्रदेश कमिटीले विद्या भट्टराईसँगै सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ को नाम पनि सिफारिस गरेको हो ।

केन्द्रबाट नै ३ जनाको नाम मागेपछि वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट गुरुङलाई सिफारिस गरिएको नेकपाका गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुनुहुन्छ भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए । करण नेकपा कास्की इन्चार्ज समेत हुन् । प्यासी यसअघिको चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचीमा थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो ।

कास्की २ मा ७१ हजार आठ सय ७१ मतदाताले मतदान गर्न पाउने उपचुनावका लागि साझा पार्टीले पोखराकी रजनी केसीलाई उम्मेदवार घोषणा गरिसकेको छ । कांग्रेसले भने यसअघि नै १६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार ०९:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।