Logo

नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्छौँं – प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा गर्ने नीतिमा सरकार अगाडि बढिरहेको बताए  । राष्ट्रिय बाल दिवसको अवसरमा स्वदेश बधाई तथा शुभकामना सन्देश दिँदै उहाँले बालबालिकाको हक(हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए  ।

‘यस वर्ष हामीले ‘विपद्मा बाल अधिकारको सुनिश्चितता स् हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै छौं,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रतिवद्धता जनाएको छ । सरकार यस प्रतिवद्धताका कारणले मात्र होइन, बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित छ ।’

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको स्मरण गराउँदै उहाँले सोहीअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताए  । चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको र अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम थालनी गरेको भनाइ छ । ‘सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको बताएको छ  ।

बाल दिवसको अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, ‘बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्दछ । बालबालिका सेतो कपडा हुन्, तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न पुग्दछ । तसर्थ सिर्जनाका आधारभूमि हाम्रा यी बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत् सकारात्मक ज्ञान सम्प्रषेण गर्नु पर्दछ ।’ समस्त अभिभावकहरुलाई यसतर्फ दायित्वशील हुन समेत आह्वान गरेको छ ।

 

bal-divas-2077-page-001.jpg

bal-divas-2077-page-002.jpg

 

प्रकाशित मिति : भाद्र २९, २०७७ सोमबार  ८ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।