पोखरामा शुक्रवारदेखि १२ औं डिष्ट्रिक कन्फरेन्स हुने भएको छ ।
माघ २४ देखि २६ सम्म हुने डिष्ट्रिक ३२९२ को १२ औं डिष्ट्रिक सम्मेलनमा नेपाल सहित भुटान, भारत, जापान, ताईवान, अमेरिका तथा स्वीडेन लगायत विभिन्न मुलुकबाट करिव २ हजार पाँचसय भन्दा बढी रोटरीयनहरुको सहभागीता हुने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
रोटरी इन्टरनेशनलका प्रमुख नोमिनी शेख मेहताको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा रोटरी इन्टरनेशनल अध्यक्षका प्रतिनिधि एन विसेट एसवोल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्राई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको ३२९२ का अध्यक्ष डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठले जानकारी दिए ।
नेपाल भ्रमण बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले माघ २३ गते काठमाण्डौंदेखि पोखरा सम्म कार र्याली समेत गरिने छ । सोहि दिन पोखरा रंगशालामा गभनर्स सुपर सिक्स क्रिकेट खेल समेत हुने छ । सो खेलमा नेपाल र भारतका रोटरियनहरुले सहभागीता जनाउने छन् । त्यसै गरी सम्मेलनको दोस्रो दिन पोखरामा जनचेतनामुलक बृहत पोलियो र्यालीको समेत आयोजना गरिने भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले रोटरी कुनै व्यक्तिगत स्वार्थका लागी भन्दा पनि सामाजिक कार्यका लागी स्थापना भएकाले नेपालमै पहिलो पटक रोटरीले रगत संकलनका लागी नेपाल रेडक्रस सोसाइटी कास्कीलाई गाडी हस्तान्तरण गर्ने योजना रहेको बताए ।
पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने कन्फरेन्स सफल पार्न रोटरी क्लव अफ पोखराका अध्यक्ष गोपाल ध्वजुको नेतृत्वमा १३ सदस्यीय मुल आयोजक समिति र २९ वटा उपसमिति समेत गठन गरिएको सचिव डिल्लीप्रसाद शर्माले जानकारी दिए ।
नेपालमा सन् १९५९ मा स्थापना भएको रोटरी क्लवमा नेपालका १ सय २४ र भुटानको १ गरी कुल १ सय २५ वटा क्लवहरु डिष्ट्रिक ३२९२ मा आवद्ध छन् । हाल विश्वका २ सय मुलुकहरुमा ३६ हजार भन्दा बढी रोटरी क्लवहरु तथा साढे १२ लाख भन्दा बढी रोटरीयनहरु आवद्ध छन् ।
रोटरीले शिक्षा स्वास्थ्य, खानेपानी लगायत विभिन्न मानवीय तथा सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ । प्रत्येक बर्ष आयोजना हुने सम्मेलन गतवर्ष वुटबलमा भएको थियो ।
















प्रतिक्रिया