Logo

टिप्पणी

के देउवा र आरजु विरुद्ध पनि दायर होला विशेष अदालतमा मुद्दा ?



ललिता निवास प्रकरणमा अख्तियारले आफ्नो अनुसन्धानको आधारमा १७५ जनालाई दोषी ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १८५ मध्य एक रहेका आफ्ना उपसभापति विजयकुमार गच्छदारको बचाउमा संसद भवन देखि सडकसम्म विरोधको नाटक समेत मञ्चन गर्न भ्यायो ।

सरकारले राजनैतिक प्रतिशोधको आधारमा संवैधानिक निकायलाई समेत प्रयोग गरेको दाबी गर्दै गरेको सदन र सडक संघर्ष किन सुरु गर्‍यो भन्ने थाहा नपाउँदै स्थगित गर्‍यो । आफूलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले संवैधानिक आयोगले न्यायलयमा दायर गरिसकेको मुद्दामा प्रतिनिधिसभाको कुनै भूमिका नहुने कुरा बुझ्न् केही दिन लाग्यो भन्ने कुरा पत्याउन मुस्किल पर्ला तर जे आधारमा विरोध गर्‍यो त्यो पुष्टि नहुँदै विरोधको कार्यक्रमहरू स्थगित हुनुलाई आफ्नो अनुकूलतामा सबैले आफ्नो तरिकाले बुझ्ने स्वतन्त्रता भने दियो ।

यहीबीचमा कांग्रेस उपसभापति गच्छदारलाई पार्टी सभापति शेरबहादुर देउवा र अर्का उपसभापति विमलेन्द्र निधीकै योजनामा फसाईएको खबर समेत सार्वजनिक भए । त्यही बीचमा आफ्ना उपसभापतिको मुद्दाको प्रतिरक्षामा आफ्नो सम्पूर्ण ताकत लगाएको कांग्रेसको यूटर्न ले केहि हदसम्म शंकाको सुविधा भने दिएको छ । जे होस् यो प्रक्रियागत रूपमै अदालत प्रवेश गरिसकेको विषय भएकोले पनि अब न्यायीक निरुपण कसरी हुन्छ । त्यो हेर्नलायक बिषय हुन सक्छ ।

यसैबीच ‘कांग्रेस उपसभापति सम्म अख्तियार प्रवेश गरेपछि कांग्रेस सभापति देउवा दम्पतीलाई कुनै दिन गच्छदारकै हालतमा पुगीने त होइन’ भन्ने भयले सताउन थालेको बताइन्छ । अकुत सम्पत्ति आर्जन सम्बन्धि देउवा दम्पती विरुद्धको मुद्दा अहिले पनि अख्तियारमा विचाराधीन छ । यसबाहेक बाबुको नाममा जमिन खरिद गरेर दुई तीन महिनाकै अन्तरमा बाबुबाट आफूले उपहार पाएको देखाउन आफ्नो नाममा जग्गा नामसारी गर्ने गरेको सम्बन्धि बिषयमा पनि देउवापत्नी आरजु राणा विरुद्ध मुद्दा दायर गर्ने तयारी समेत तीन बर्षदेखि विचाराधीन रहेको छ ।

यसै कारण पनि प्रतिपक्षी दलका नेता भएर पनि वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको विरुद्धमा खरो उत्रन नसकेको बताइन्छ । अन्यथा यहि मुद्दाको आडमा देउवा दम्पतीको विरुद्ध पनि जुनसुकै बेला पनि विशेष अदालतमा मुद्दा दायर हुनसक्ने सम्भावना रहन्छ । उसै पनि सरकारले गरेका भनिएका धेरै अनियमितताका घटमा देउवाको नाम समेत मुछिने गरेको यथार्थलाई कसरी संयोग मात्रै मान्न सकिएला र ?

अख्तियारले देउवा दम्पती विरुद्ध भ्रष्टाचारसँग सम्बन्धित कुनै मुद्दा नचलाउने “ग्यारेन्टी” भएमा सरकारलाई चाहिने जस्तोसुकै सहयोग गर्न तैयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य मार्फत प्रधानमन्त्रीलाई सन्देश पठाउँदै कांग्रेसले अख्तियार विरुद्धको आफ्नो लडानबाट हात झिकेको चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।