Logo

बामदेव गौतमलाई आफ्नो पक्षमा तान्न प्रयासमा केपी ओली



प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । बिरामी अवस्थामै उपाध्यक्ष गौतमलाई निवासमा बोलाएर भेटघाट गर्दै सम्बन्ध बिस्तार गर्ने प्रयास गरेका हुन् ।

बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र ‘सगरमाथा संवाद’ उद्घाटन कार्यक्रममा सहभागी हुन नसकेका ओली अपराह्न राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा सहभागि भएका थिए ।

ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए । प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नं। प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिएका थिए ।

उनले पार्टीको जिम्मेवार तहमा रहेको तथा संगठन विभाग प्रमुख पनि भएको हैसियतले पार्टी्भित्र देखिएका विवाद साम्य पार्ने दायित्व गौतमको भएको बताएको स्रोतले जनाएको छ । उपाध्यक्ष गौतमसँग पार्टीका विविध विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

पुस २३ गते गौतम निवासमा जम्मा भएका नेकपा शीर्ष नेताहरुको भेलाले ओलीलाई पार्टीभित्र निकै असहज बनाएको थियो । त्यसयता ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए । त्यसपछि ओलीले नेकपाका उपाध्यक्ष गौतमसँग भेट गरी पार्टी सञ्चालनका विषयमा छलफल गरेका हुन् ।

‘ओलीले गौतमलाई एक्लै भेटेर सम्बन्ध कसिलो बनाउने कोसिस गरेको देखिन्छ ’, नेकपाका एक नेताले भने, ‘ओलीले नेताहरुसँग एक्लाएक्लै भेटेर सम्बन्ध सुधार्न खोजेको हुन सक्छ ।’ गौतमले प्रदेश २ मा रहेको पार्टीको आन्तरिक विवाद मिलाउने जिम्मेवारीसमेत पाएका छन् ।

प्रदेश २ को पार्टी विवाद मिलाउन नेकपा स्थायी कमिटीले संगठन विभागलाई जिम्मा दिइसकेको छ, अभियान टाइम्समा समाचार छ । २० माघमा बसेको विभागको बैठकले प्रमुख र एक सदस्य मधेस जाने र पार्टी विवाद समाधान नगरी काठमाडौं नफर्किने निर्णय लिएको थियो।

गौतमले मधेसको पार्टी समस्याका विषयमा आइतबार पनि विभागकै सदस्यद्वय अष्टलक्ष्मी शाक्य र मात्रिका यादव तथा नेता रघुविर महासेठसँग सामूहिक छलफल गरेका थिए। त्यसपछि उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको उनी निकट स्रोतले जनाएको छ। ‘संगठन विभाग प्रमुख समेत भएकाले पार्टीको आन्तरिक छलफल गर्न र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उहाँ बालुवाटार जानुभएको हो’, गौतम निकट एक नेताले भने ।

प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार  १० : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।