Logo

अन्तर्वार्ता

‘कोरोना हो कि भनेर आत्तिहाल्नु पर्दैन, यतिबेला माैसमी रुघाखोकी देखिन्छ’ : डा. शेरबहादुर पुन



धेरै मानिसहरुको स्वास्थ्यमा समस्या देखिने गर्छ। पछिल्लो समय मौसमी रुघाखोकी वा फ्लुका बिरामीको संख्या बढ्दो रहेको चिकित्सकहरु बताउँछन्। तर चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका १ सय ५८ देशमा फैलिएसँगै मानिसहरुमा यसको त्रास दिन प्रतिदिन बढिरहेको छ।

समान्य रुघाखोकी लाग्ने बित्तिकै कोरोनाका डरले अस्पताल पुग्नेहरुको संख्या बढिरहेको चिकित्सकले बताएका छन्। मौसमी रुघाखोकी र फ्लु लागेका व्यक्तिहरुले कस्तो कुरामा ध्यान दिन जरुरी छ ? यही विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिर्सचर यूनिटका संयोजक सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी :

मौसमी रुघाखोकी वा फ्लु भनेको के हो ?

यसलाई दुई वटा पाटोमा हेर्न सकिन्छ। एउटा मौसमी रुघाखोकी र अर्को मौसमी फ्लु। मौसमी रुघाखोकी गराउने भाइरस फरक हुन्छ भने मौसमी फ्लु गराउने भाइरस छुट्टै हुन्छ। आइडिनो राइनो भाइरसले रुघाखोकी गराउँछ भने फ्लु इन्फ्लुएन्जा भाइरसले गराउँछ। इन्फ्लुएन्जा भाइरसमा चार प्रकार हुन्छन्, जसमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ हुने गर्छ। यी मध्ये ‘ए’ र ‘बी’ ले मानिसलाई बिरामी गराउनका लागि महत्वपूर्ण भुमिका खेल्ने गर्छ।

मौसमी रुघाखाकी वा फ्लु लागेको कसरी थाहा पाउन सकिन्छ ?

यी दुवैको लक्षण उस्तै हुन्छ। तर मौसमी रुघाखोकीभन्दा तुलनात्मक रुपमा मौसमी फ्लु कडा हुन्छ। फ्लु हुँदा मानिसमा अचानक ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, स्वास प्रश्वासमा अपठ्यारो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने जस्ता मुख्य लक्षण देखा पर्छन्। रुघाखोकीमा सामान्यतया: नाकबाट पानी बग्ने, हाछ्यूँ आउने, घाँटी खसखस हुने, जस्ता लक्षण देखा पर्छन्।

मौसमी रुघाखोकी वा फ्लुबाट बच्ने उपाय के–के छन् ?

रुघाखोकी वा फ्लु खोकी, हाछ्यूँबाट सर्ने भएका कारण यस्ता व्यक्तिसँग ६ फिट दूरी कायम गरेर बस्नु पर्छ। हात जथाभावी नाक, मुखमा छोइरहने गर्नु हुँदैन। त्यसैगरी कुनै पनि व्यक्तिसँग अंकमाल गर्ने, हात मिलाउन गर्नु हुँदैन। हात मिलाउनुको साटो टाढैबाट नमस्कार गर्न सकिन्छ। बेला–बेला साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ। सबै भन्दा महत्वपूर्ण कुरा यदी कुनै व्यक्ति संक्रमित भएको खण्डमा घर–परिवारका सदस्यबाट केही दिनका लागि टाढा वा छुट्टै बस्नु पर्छ। यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना कम हुन्छ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।