Logo

समाचार

वीर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाको परीक्षण गरिने



सरकारले वीर अस्पताल, धुलिखेल अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना भाइरस परीक्षणको सुविधा विस्तार गर्ने भएको छ।

सरकारले काठमाडौंको वीर अस्पताल, काभ्रेको धुलिखेल अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना भाइरस (कोभिड-१९) परीक्षणको व्यवस्था गर्ने भएको छ । यसका लागि तत्कालै उपकरण जडानको काम थालिने कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बसेको बैठकले निर्णय गरेको छ ।

यसैगरी, वीर अस्पताल, धुलिखेल अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेशस्तरमा परीक्षण गर्ने व्यवस्था नहुन्जेल छिटो सवारीको साधनको माध्यमबाट केन्द्रीय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराउने व्यवस्था मिलाउने निर्णय गरिएको समिति सदस्य एवं सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्रै कोरोना भाइरसको परीक्षण हुँदै आएको छ । अहिलेसम्म नेपालमा दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने ९ चैतमा कोरोना भाइरस पुष्टि भएकी एक महिला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन कक्षमा उपचार गराइरहेकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।