प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संघर्षपछि आएको संघीयतालाई कसैले पनि समाप्त पार्न नसक्ने बताए । विराटनगर–१४ मा निर्माण हुन लागेको प्रदेश जनस्वाथ्य प्रयोगशालाको मंगलबार शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताए।
नेपाली जनताका लागि संघीयता उपहार भएको भन्दै संघीय प्रणालीअन्तर्गत सरकारले धेरै काम गरेको उहाँले बताउनुभयो । केही मानिस सडकमा संघीयताको विरोध गर्दै अर्को विकल्प चाहियो भन्छन् तर आफू सत्तामा हुँदा वा आफ्नो पालाको सरकारमा उनीहरूले देश र जनताका लागि के काम गरे भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले गणतन्त्रको विकल्प राजतन्त्र कदापि नहुने बताए ।
संघीयता नेपाली जनतामा स्थापित भइसकेकाले अर्को व्यवस्था अब सम्भव नरहेको उहाँले प्रस्ट पार्नुभयो आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु सरकारको दायित्व भएको बताउँदै प्रदेश ल्याब सञ्चालनमा आएपछि सबै प्रकारको सेवा यही ल्याबबाट सर्वसाधारणले पाउने मुख्यमन्त्री राईको भनाइ छ ।
कार्यक्रममा प्रदेश–१ का समाजिक विकासमन्त्री जीवन घिमिरेले विकास निर्माणमा प्रदेश सरकाले ठूलो फड्को मारेको भन्दै ल्याब सञ्चालनमा आएपछि नेपालीले उपचारका लागि दिल्ली र बम्बई जानु नपर्ने बताए । उहाँले आगामी ६ महिनाभित्र प्रयोगशाला भवन निर्माणको काम सम्पन्न भइसक्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोभिड नियन्त्रणका लागि प्रदेश सरकार र महानगरपालिकाको सहकार्यमा उल्लेखनीय काम भएको बताए । कार्यक्रममा प्रदेश सभासद् जयराम यादव, प्रयोगशाला विज्ञ सन्तोष उपाध्याय काफ्ले, सेभ द चिल्डेनका हरिबोल गजुरेल, प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवलगायतले प्रदेश ल्याब स्थापना हुनु प्रदेशवासीका लागि गौरव र खुसीको कुरा भएको बताए ।
सेभ द चिल्डेनको सहयोगमा ८ कठ्ठा १२ धुर जग्गामा ८ करोडको लागतमा चारतले प्रयोगशाल भवन निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ । पहिलो तलामा नसर्ने रोगको प्रयोगशाला, दोस्रो तलामा सर्ने रोग र तेस्रो तलामा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउने डा. प्रतीक्षा कार्कीले बताउनुभयो ।





















प्रतिक्रिया