Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट एकै दिन ४३ सय ४१ को मृत्यु, मृतकको संख्या ४२ हजार नाघ्यो



कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट हिजो मंगलबार मात्रै चार हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । दिन प्रतिदिन महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट एकै दिनमा भएको यो अहिलेसम्मकै धेरै मृत्यु हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार १ सय १४ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संक्रमितको संख्या पनि साढे आठ लाख नाघेको जनाएको छ ।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट इटालीमा सबैभन्दा धेरै ८ सय ३७ जना, स्पेनमा ७ सय ४८, अमेरिकामा ७२६, फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ ।
इटालीमा अहिलेसम्म मृतकको संख्या १२ हजार ४ सय २८, स्पेनमा ८ हजार ४ सय ६४ जना, अमेरिकामा ३८ सय ६७, फ्रान्समा ३५ सय २३ पुगेको छ ।

संक्रमित ४ जनाको स्वास्थ्य सामान्य बन्दै

कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका चार जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । अस्पतालका अनुसार उनीहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई जना, सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक र बाग्लुङको धौलागिरी अस्पतालमा एक जना गरी चार जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

यस्तै, वीर अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना भाइरस कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यस्तै, हालसम्म एक हजार ६० जनाको कोरोना भाइरस नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका अस्पतालमा ८७ जना आइसोलेसन वार्डमा छन् । जसमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० जना छन् ।

संक्रमित पाँच जना नै विदेशबाट नेपाल आएका हुन् । सरकारले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनसार प्रत्येक प्रदेशमा व्यक्तिगत सुरक्षा सामग्री पुगिसकेको छ । कोरोना परीक्षणका क्रममा ¥यापिड कीट टेस्ट प्रयोगमा नल्याउन सरकारले आग्रह गरेको छ ।

सरकारले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री स्थानीय तहले पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयले पोखरामा पनि कोरोना भाइरसको प्रयोगशाला परीक्षण सुरु भएको जनाएको छ । पोखरामा मेसिन जडान भइसकेकोले परीक्षण सुरु भएको हो ।

हेटौंडामा पनि छिट्टै नमुना जाँच सुरु गर्ने गरी काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यसअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना जाँच गर्ने काम सुरु भइसकेको छ । धनगढी, जनकपुर र सुर्खेतमा पनि जाँच सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।