Logo

गण्डकी प्रदेश

तनहुँको व्यास नगरपालिकामा पहिरो जाँदा २ सय घरको विद्युत् अवरुद्ध



बुद्धसिंह राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१३ निउरोघारीमा गएराति पहिरोले बिजुलीको पोल बगाउँदा दुई सय घरमा विद्युत् अवरुद्ध भएको छ । केही दिनदेखि परेको वर्षाले उक्त ठाउँमा पहिरो जाँदा बिजुलीको पोलमा क्षति पुगेको हो ।

पहिरोले ठूला–ठूला ढुङ्गा झारेर ११ केभी लाइनको बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले जानकारी दिएका छन् । “पहिरोले चार वटा पोलमा क्षति पुर्याउँदा व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका दुई सय घरमा विद्युत् अवरुद्ध हुन पुगेको छ । पहिरो नहटाउँदासम्म मर्मत कार्य गर्न समस्या छ । ढुङ्गाले पोल र तारहरु थिचेकाले पहिरो हटाएपछि मात्रै मर्मतको काम गर्न सकिने उनले जानकारी दिएका छन् ।

सो स्थानमा केही दिनअगाडि पनि पहिरोले दुईवटा पोलमा क्षति पुर्याएको थियो । सो पोल तत्कालै मर्मत गरी विद्युत् प्रवाह सञ्चालन गरिए पनि अहिले ठूलो पहिरो गएकाले पहिरो हटाएपछि मात्रै मर्मतसम्भारको काम गर्न सकिने विद्युत् प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका संयोजक बद्रीनाथ अधिकारीले अवरुद्ध भएको बाटो खुलाउने तयारी गरिएको जानकारी दिनुभयो । उनले दमौलीबाट डोजर पठाएर बाटोको पहिरो पन्छाउन लागिएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १२:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।