Logo

कोशी प्रदेश

वडाध्यक्ष सहित ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या उदयपुरमा ७३ पुग्यो



कोरोना भाईरस नियन्त्रणको अभियान लिएर गाउँ पसेका जनप्रतिनिधिलाई नै कोरोना पोजेटिभ देखिएपछि उदयपुरको बेलका नगरक्षेत्रमा त्रास फैलिएको छ ।

पहिलोपटक शुक्रबार बेलका नगरपालिकाका ६५ बर्षिय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट वडाध्यक्षसहित बेलका नपा ९ का २३, ३२, ३४ बर्षिय र वडानं ५ का ४० बर्षिय पुरुष गरी पाँचजनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

उनकाअनुसार पाँच मध्ये वडानं ९ का २ जना २३ र ३४ बर्षिय युवा असार १२ गते भारतबाट नेपालको जोगमुनी नाका हुँदै क्वारेन्टाईनमा आएर बस्दै आएका हुन् । त्यस्तै सोही वडाको ३२ बर्षिय युवा असार ९ गते पोखराबाट घर आई होमक्वारेन्टाईनमा बस्दै आएका थिए । त्यस्तै वडानं ५ का ४० बर्षिय नेपाल प्रहरीका पूर्वकर्मचारी हुन् । उनी तीन महिना अघि मात्र काठमाण्डौबाट घर आएका थिए । उनीहरु सबैको असार १५ गते पिसीआर परीक्षण गरिएको थियो ।

वडाध्यक्ष गाउँमा नै कोरोना नियन्त्रणको अभियानमा, योजना अनुगमन, बाँडफाँडमा सकृय थिए । पाँचै जनालाई चौदण्डिगढीको बेल्टारस्थित सातधारे आईसोलेशनमा लगिएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ जना पुरुष र १९ जना महिला गरी ७३ जना पुगेको छ । त्यसमध्ये ३५ जना पुरुष र ८ जना महिला गरी ४३ जना उपचारपछि निको भएर घर फर्किसकेका प्रमुख सुवेदीले बताए ।

समुदायमा बसेकाहरुमा कोरोना पोजेटिभ देखिनुले यसलाई समस्या र नियन्त्रणको चुनौतीकोरुपमा हेरिएको छ । वडाध्यक्षमा पोजेटिभ देखिनुले पालिकाका सबै जनप्रतिनिधि कन्ट्राक ट्रेसिङमा पर्ने देखिएको छ । समुदायमा देखिएका एक जनाको पनि कन्ट्रयाक ट्रेसिङ निकैजनाको हुने देखिएको छ ।

उदयपुरमा दोश्रोपटक समुदायमा देखिएको कोरोना पोजेटिभ घटना हो । त्रिनपा २ बाट सुरु भएको कोरोना त्रिनपा ११ का एक जनामा पुष्टि भएको थियो । गाईघाटकी एक महिलामा देखिएकोमा कन्ट्रयाक ट्रेसिङबाट उनलाई गाईघाट बाहिरनै संक्रमण भएको देखिएको छ ।

त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केमा ३२ जनामा भेटिएकोमा सबै निको भईसकेका छन् । भुल्केको संक्रमण बस्तिमै नियन्त्रण गर्न सफल भएको थियो । चौदण्डिगढी नपा ५ सिवाईमा एक जनामा पोजेटिभ देखिएकोमा निको भईसकेका छन् । उता कटारी नपा, ताप्ली र उदयपुरगढी गाउपालिकामा देखिएका संक्रमितहरु भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरु हुन् । हाल बेल्टार सातधारे आइसोलेशनमा उदयपुरका १८ जना रहेका छन् । आजको पाँचजनासहित अव त्यहा २३ जना रहनेछन् ।

संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ५० जना, बेलका नगरपालिकामा १० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ हजार ८६ जना महिलासहित तीन हजार ७ सय ९३ ले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये ३ हजार ६ सय ८१ जनाको रिर्पोट आईसकेको छ । त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडिटी टेष्ट भईसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजेटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।

कार्यालयकाअनुसार २० जना महिला र १ सय २७ जना पुरुष गरी १ सय ४७ जना क्वारेन्टाईनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाईनमा रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार १९:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।