Logo

प्रमुख समाचार

२ न प्रदेशमा गुण्डा शैलीमा उत्रिएका कम्युनिष्ट पार्टीका सांसदहरूले के-के गरे ?



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेश २ का सांसद सत्यनारायण मण्डलसहितका सांसदहरूले अराजकता प्रदर्शन गर्दै प्रदेश सभामुख सरोज यादवलाई हातपात गरेका छन् ।बिहीबार प्रदेश २ को सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएको विषयमा संसदीय दलका नेता मण्डलले सभामुख सरोज यादवमाथि कार्यकक्षमै हातपात गरेका हुन् ।

मण्डलसहितका सांसदहरू हातपात गर्न थालेपछि कार्यकक्षमा रहेका अन्य सांसद र मर्यादापालकहरूले छुट्याएका थिए ।पूर्वसहमतिअनुसार नेकपाले लेखा समितिको अध्यक्ष पाएको थियो । लेखा समितिमा नेकपाको संस्थापन समूहले भरत साहलाई अगाडि अगाडि बढाएको थियो ।

भरत साहले नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थन पाएनन् । आफ्ना दलका सांसदहरूको समर्थन र प्रस्तावमा लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।नेकपाकै सांसद शत्रुधन महतोले विद्रोह गरी कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थनमा लेखाको सभापतिमा उम्मेदवारी दर्ता गराएको विषयमा विवाद र भनाभन हुँदा सभामुख सरोज यादवमाथि मण्डलले हातपात गरेको स्रोतले जनाएको छ ।

दलबलसहित सभामुखको कार्यकक्षमा पुगेका मण्डलले टेबुल ठोक्नुका साथै सभामुख सरोज यादवलाई शत्रुधन महतोको उम्मेदवारी खारेज गर्न दवाव दिँदै हातपात गरेका हुन् । त्यति मात्रै होइन नेकपाका नेता मण्डलले कांग्रेसले नेकपालाई विभाजन गर्न खोजेको भनेर आरोप समेत लगाए ।

कार्यालय समयभित्रै शत्रुधन महतोको पक्षबाट कांग्रेसका प्रदेश सांसद नरेश यादवले उम्मेदवारी दर्ता गराएका थिए ।नेकपाका आधिकारिक उम्मेदवार भरत साहलाई नेकपाकै सांसद लगनलाला चौधरी र रामकुमार यादवले प्रस्ताव र समर्थक मात्रै गरेका छन् । कुनै पनि पार्टीले समर्थन गरेका छैनन् ।

भरत साहले आफ्नै पार्टीका विद्रोही उम्मेदवार शत्रुधन महतोको उम्मेदवारी पत्र नरेश यादवको हातबाट खोसेर च्यातिदिएपछि विवाद भएको थियो ।प्रदेश २ मा नेकपाका ३२ सांसद, कांग्रेसका १९, संघीय फोरमका ३०, राजपा नेपालका २५ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी फोरमका एक जना सांसद छन् ।

यसैबीच, प्रदेश २ को प्रदेश सभाका विभिन्न पाँच समितिका सभापतिहरू निर्विरोध भएका छन् ।निर्विरोध हुनेमा मनीषकुमार सुमन (अर्थ तथा योजना समिति), जयनुल राईन (महिला बालबालिका तथा समाजिक न्याय समिति), अशोक यादव (प्रदेश मामिला समिति), बीरेन्द्र सिंह (कृषि तथा भूमि व्यवस्थापन समिति) र शेख अबुल कलाम (विकास समिति) रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  ७ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।