यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नैतिक संकटमा परेका छन् । देउवालाई पार्टि र संगठन जोगाउने की आफु बलियो बन्ने भन्ने संकट परेको हो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिको संयोजक तोक्न देउवालाई सकस परिरहेको छ । संगठनमा विद्यार्थी नेताहरुको तछाडमछाडले देउवालाई सकस परेको हो ।
गुटउपगुटका कारण आफै कमजोर पर्दै गएको कांग्रेसले भातृ संगठनलाई कुन दिशामा लैजाने भन्ने कुरा यतिबेला देउवाको काँधमा छ । देउवाले कसलाई जिम्मेवारी दिन्छन् भन्ने सबैको चाँसोको विषय बनेको विद्यार्थी संगठनका नेताहरुले आफु निकटका नेतालाई तदर्थ समितीको संयोजक बनाउन माग गर्दै आन्दोलन गरिरहेका छन् ।
नेविसंघको ११ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले माघ २८ गते पदबाट राजीनामा दिएपछि तदर्थ समिति बनाउने काँग्रेसले निर्णय गरेको छ । तर, तदर्थ समितिको संयोजक कसलाई बनाउने भन्नेमा चाहिँ पार्टी नेताहरुबीच तँछाडमछाड सुरु भएको हो । फागुन २ मा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवालाई सबै पक्षसँग आवश्यक छलफल गरेर तदर्थ समिति गठन गर्ने जिम्मा दिएको थियो ।
हरेकले आफु बलियो हुनको लागि आफु निकटकै विद्यार्थीलाई संयोजकको जिम्मेवारी दिनुपर्ने अडान राख्दै आएका छन् । ११ औं महाधिवेशन भएको २९ महिनासम्म पनि १२ औं महाधिवेशन गर्न नसकेपछि महरले २८ माघमा राजीनामा दिएका थिए । जवकी हरेक २ वर्षको अन्तरमा महाधिवेशन गर्नुपर्ने नेविसंघको विधानमा उल्लेख छ ।
नेविसंघमा अहिले फेरी विधान नै बनाएर ३२ वर्षे उम्मेरहद तोकिएको छ । विधानमा ३२ वर्षे हदबन्दी तोकिएपछि तदर्थसमितिमा पनि सोही उमेर हदबन्दी लगाइनु पर्ने आवाज उठेको छ । तर, तदर्थसमितिमा ३२ माथि वा मुनीका कसलाई नेतृत्व ल्याउने भन्नेमा पार्टी स्पष्ट छैन ।
यस अन्योलतालाई फागुन ९ गते बस्ने काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निकास दिने विश्वास लिइएको छ । तर, त्यो दिन पनि अन्य दिनहरु झै बैठकले बिना निर्णय नै आफुहरुलाई नठगोस भन्ने विद्यार्थी नेताहरुको चाहाना रहेको ।
एकतिर नेकपा निकट विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन चैत्र भित्रै गरिसक्नु पर्ने माग रााख्दै आएका छन् । यता नेविसंघ आफ्नै आन्तरिक किचलोमा फसिरहेका कारण स्ववियु निर्वाचनमा भाग लिने नलिनेमा अन्यौलतामा रहेको छ । यतिबेला स्ववियु निर्वाचन हुँदा हार ब्यहोर्नुपर्ने डरले भाग नलिने देखिएको छ ।
नेतै पिच्छे फरक-फरक संयोजक
नेताहरुले आ आफ्नो तर्फबाट विद्यार्थी नेताहरु बनाउन माग गर्दै विद्यार्थी नेतालाई अघि सारेका छन् । कृष्णप्रसाद सिटौंलाको तर्फबाट नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्ष उमेर हदबन्दीसहित संगठनको तदर्थ समिति गठनको माग गरेका छन् । उनले आफ्नो माग सुनुवााई गर्न माग गर्दै सोमबार प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा पत्रकार सम्मेलन गरेर ६ महिनाभित्रै १२ औं महाधिवेशन सम्पन्न गर्ने गरी ३२ वर्ष मुनीको तदर्थ समिति गठन गरिनुपर्ने काफ्लेले माग राखेका छन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षबाट मनोजमणि आचार्यलाई अघि सारेका छन् । उपसभापति विमलेन्द्र निधिले निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापालाई अघि सारेका छन् । महामन्त्री पूर्णबहादुर खड्काले ११ औं महाधिवेशनमा अध्यक्षमा पराजित शुभराम बस्नेतलाई अघि सारेका छन् । यस्तै संस्थापक पक्षका बालकृष्ण खाँण, प्रकाश घिमिरे र सहमहामन्त्री प्रकाशरण महतले प्रेमराज जोशीलाई अघि सारेका छन् ।
अम्बिका चलाउने फरक मत
अछाम पञ्चदेवल विनायक नगरपालिकाको उप प्रमुख समेत रहेकी अम्बिका चलाउनेले भने फरक मत राखेकी छिन् । नेविसंघको नेतृत्व महिलालाई दिनुपर्ने माग राखेकी छिन् । यस्ता मागहरु विभिन्न समयमा नेविसंघमा उठेको भएपनि संघकी निवर्तमान सहमहामन्त्री समेत रहेकी चलाउनेले भने महिलालाई नै नेतृत्व दिनुपर्ने दबाब दिएकी छिन् । उनले महिलालाई नेतृत्व नदिएमा आफुले शसक्त आन्दोलन गर्न समेत पछि नहट्ने चेतावनी दिएकी छिन् ।
प्रतिक्रिया