सुनसरी, धनकुटा र बाराका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।
सुनसरी, देवानगञ्ज नगरपालिका-२ रामटोलस्थित सडकमा को.२ ह ४९२१ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय बेचु दास मेहेताको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा, धनकुटा नगरपालिका-७ जिरो प्वाईन्टस्थित सडकमा को.१ ख ४०७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रुद्रबारी पाखाटोल बस्ने ५० वर्षीया गुणमाया राईको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१९ स्थित सडकमा लु.२ त २२४६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सदाम देवानका १ वर्षीय छोरा समिर देवानको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया