Logo

समाचार

ताप्लेजुङ दुर्घटनाको कारण खोज्न थालियो, संकाको घेरामा को ?



बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको ज्यान जानेगरि भएको ताप्लेजुङ दुर्घटनाको कारण खोज्न सुरु भैसकेको उप प्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जनाएका छन् ।

पोखरेलले अबका दिनहरुमा यस्ता हवाई दुर्घटना हुन नदिनका लागि सरकारले विशेष सावधानी अपनाउन ध्यान दिएको बताएका छन् । कसरको गल्तिले यस्तो समस्या आएको हो ? यसको दोशी को ? भन्ने कुरा छिट्टै कारण सहित जानकारी लिएर अब समस्या सिर्जना हुन नदिने तर्फ ध्याानआकर्षण भएको उनको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरिसकेको जनाएका छन् ।

उनले भने्, “सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन ।” उनले आजै शवहरु त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि सामूहिक श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने र त्यसपछि मृतकका परिवारका सदस्यलाई अन्त्येष्टि गर्न जहाँ लैजाने त्यसैका लागि सरकारले सहयोग गर्ने जानकारी दिए।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

त्यस बखत विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विमानस्थल पुगेका थिए ।

आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट अपराह्न १ः २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  १० : ३० बजे