Logo

प्रमुख समाचार

नेपाल दुध र तरकारीमा आत्मनिर्भर भैसक्यो : कृषिमन्त्री खनाल



कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नेपाल दुध र तरकारीमा आत्मनिर्भर भैसकेको दाबि गरेका छन् । खनालले मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षत्कारमा बोल्दै यस्तो बताएका हुन् ।

साथै खनालले कृषि तथा पशुपन्छीमा पनि नेपाललाई छिट्टै आत्मनिर्भर बनाउने गरि काम भैरहेको स्पष्ट पारेका छन् । साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ‘अहिलेपनि हामी धेरै कुरामा आत्मनिर्भर भैसकेका छौं । अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं । अहिले दूध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं ।’

मन्त्री खनालले खसी–बोकामा केही वर्षभित्र आत्मनिर्भर हुने दाबी गरेका छन् । त्यस्तै, उनले फलफूलमा नेपाललाई आगामी ५ ६ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरे ।

कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नको लागि अध्ययन गर्न कार्यदल बनाएर काम भैरहेको पनि मन्त्री खनालले जानकारी दिए । ‘कृषिमा दिइएका अनुदानहरुलाई व्यवस्थित् गर्नुपर्छ । अनुदानमा केहीमा हामीले पुनरावलोकन गर्नुपर्छ’, उनले भने, ‘केहीमा अनुदान बढाउनुपर्छ । आन्तरिकमात्रै होइन, वैदेशिक अनुदानलाई पनि चुस्त दुरुस्त बनाउनको लागि हामीले पहल गरेका छौं ।’

मन्त्री खनालले कर्णाली प्रदेशमा प्राङगारिक कृषि प्रणाली (अर्गानिक एग्रिकल्चर फार्म)को केन्द्र बनाउनेगरि स्थान चयन गरिसकेको सुनाए । त्यस्तै, आधुनिक कृषि प्रणालीको लागि उदयपुरको बेलका नगरपालिकामा मोडल फार्म बनाउने तयारी गरिसकिएको पनि उनले जनाए ।

आगामी बजेटमा तीन मुख्य कार्यक्रम र १७ योजनाहरु अघि बढाउने पनि उनले जनाए । खनालले भने, ‘ती कार्यक्रमहरु गेम चेन्जर योजना हुन् । आगामी ५ वर्षभित्र कृषिमा हामी आत्मनिर्भर हुन्छौं ।’ त्यस्तै उनले किसानलाई परिचयपत्र वर्गीकरण गरेर वितरण गर्ने, सोईल हेल्थ कार्ड वितरण गर्ने र किसान कल्याण परिचयपत्र पनि वितरण गर्ने सुनाए ।

मन्त्री खनालले किसानलाई सहुलियतमा ऋण दिनेगरि आफूले व्यवस्था गरिसकेको सुनाए । त्यस्तै, ५ हजार युवाहरुलाई व्यवस्थित गर्नेगरि पूर्वदेखि पश्चिमसम्म एउटा रोष्टर तयार पार्ने पनि उनले सुनाए ।

उनले भने, ‘युवाहरुले उत्पादन गरेका उत्पादनहरुको बजारीकरण गर्छौं ।’ यो कार्यक्रमलाई अघि बढाउनको लागि आगामी बजेटमा ५ सय करोड माग गरिएको पनि उनले सुनाए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार ११:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।